Logo

हायात होटलका कर्मचारीलाई हारवाही



काठमाडौं, ७ असार । हायात होटल व्यवस्थापनले आन्दोलन गर्न उक्साएको भन्दै आफ्नै कर्मचारीलाई कारबाही गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

हायात होटलको आधिकारिक ट्रेड युनियन तथा होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष मुक्ति दाहाल, नेपाल स्वतन्त्र होटल मजदुर युनियनका अध्यक्ष हेमबहादुर पण्डित र संघका कोषाध्यक्ष पुष्कर पोखरेललाई निलम्बनसहितको कारबाही गरेको उल्लेख छ ।

होटलले अन्य ६ जना कर्मचारीलाई स्पष्टीकरण सोधेको होटलको आधिकारिक ट्रेड युनियनले जानकारी दिएको छ।होटल व्यवस्थापनले एक साता होटलका कर्मचारीलाई उक्साएर काम गर्ने वातावरण नबनाएको र होटलको कामकारबाही पूर्ण प्रभावित भएको भन्दै ६ जनालाई स्पष्टीकरण र ३ जनालाई निलम्बन गरेको होटल स्रोतले जानकारी दिएको छ ।

होटलले आधिकारिक ट्रेड युनियनका कार्यबाहक अध्यक्ष विजयकुमार खत्री, सचिव रमेश अधिकारी, सदस्यत्रय दुर्गा महत, रबेल सम्बा लामा र शिवराम पुडासैनी तथा नेपाल स्वतन्त्र होटल मजदुर युनियनका वरिष्ठ उपाध्यक्ष शालिकराम सापकोटालाई स्पष्टीकरण सोधेको छ ।

होटलका आधिकारिक ट्रेड युनियनका अध्यक्ष दाहालका अनुसार निलम्बनमा परेको भनिएका तीन जना कर्मचारीलाई होटलले मुख्य गेटमै ठूलो सुरक्षा दस्ता खटाएर भित्रै पस्न दिएको छैन।अरु कर्मचारीमाथि पनि व्यवस्थापकको दमन सुरु भइसकेको छ ।

होटलले आन्दोलन गरेको भन्दै काममा फर्किएका कर्मचारीमाथि काम गर्ने वातावरण बिगार्ने काम होटल व्यवस्थापकबाटै भइरहेको दाबी दाहालको छ।उनका अनुसार होटल व्यवस्थापनलाई मजदुर संघ र युनियनका केन्द्रीय कार्यसमितिले एक साताभित्र कर्मचारीमाथिको कारबाही फुकुवा गर्न र काममा फर्किने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।

कर्मचारीमाथिको दमन कायम राखे वा कारबाही जारी गरे होटल व्यवस्थापकविरुद्ध कडा रूपमा मजदुर आन्दोलन हुने र यसको जिम्मेवारी होटल व्यवस्थापकले लिनुपर्ने चेतावनी दिएको छ।मजदुर आन्दोलका विषयमा होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

होटलका मजदुरले यसअघि व्यवस्थापनसँग भएको पटक पटकको सम्झौता पालन गर्नुपर्ने शर्त राख्दै अघिल्लो साता बिहीबारदेखि गरेको आन्दोलन मंगलबार फिर्ता लिएका थिए ।

सरकारी सम्पत्तिको दुरुपयोग गरेको विषयमा होटल आफैं छानबिनको दायरामा छ।यो होटलको विषयमा संसदीय समितिले १४८ रोपनी जग्गा भाडा सम्झौता खारेज र सेयर लगानीबापत लिएको १५० रोपनी जग्गा फिर्ता गर्न निर्देशन दिएको छ ।

संसदीय समितिको यो आदेश कार्यान्वयनकै चरणमा रहेको होटलमा स्वमित्व रहेको तारागाउँ विकास समितिको तालुक निकाय पर्यटन मन्त्रालयको भनाइ छ।होटलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्