जातीय संघीयताले जोखिममा परेको इथियोपियाबाट सिकौं

दीपेश केसी : इथियोपियाका सेनापति सियरे मेकोनेन आफ्नै सुरक्षागार्डबाट मारिएको दिन उसको राजनीतिक इतिहासकै अर्को कालो दिन बनेको छ । मेकोनेनको हत्याले इथियोपियाको अस्तित्व नै संकटमा परेको संकेत गरेको छ । जसले राज्यको सुरक्षाको कमाण्ड सम्हालेको छ उसको हत्या आफ्नै सुरक्षागार्डबाट हुनुले त्यो देशको सुरक्षामा थ्रेट रहेको सन्देश गएको छ । सेनापति मारिनुमा त्यहाँको जातीय द्वन्द्वले गाडेको जरा मुख्य कारण हो ।

कम्युनिष्ट तानाशाहको अन्तका लागि इथियोपियामा जुन जातीय समूह मिलेर लडे त्यही समूह पछि द्वन्द्व गर्न थाले । इथियोपियाको उत्तरी क्षेत्र इरिट्रियाली र इथियोपियाली जनता मिलेर कम्युनिष्ट शासन ढालेका थिए । तर, शासन ढलेपछि जातीय विषवृक्ष झांगियो । द्वन्द्वपछि जनमतसंग्रहले सन् १९९३ मा दुवै देश अलग भयो । १९९८ मा दुवै देशबीच युद्ध हुँदा ८० हजार मानिस मारिए । अझैपनि दुई देशबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन ।

इथियोपियामा घृणा र द्वेष अन्त गर्न जातीय संघीयताको अभ्यास समेत भयो । विभिन्न जातीय राज्य बनाएर त्यसको प्रमुख र सुरक्षाको जिम्मेवारी हेर्ने सैनिक जनरलहरु नियुक्ति गरियो । तर, यही नीतिले त्यहाँ नयाँ द्वन्द्व पलायो । राजनीतिक तहमा मात्र नभई सैनिक तहमा पनि विभाजनको रेखा कोरियो । सेनापतिको हत्याको कारण जातीयताको राजनीतिकरण एउटा कारण बन्यो ।

जातीय संरचना

इथियोपियामा ८० भन्दा बढी जाति रहेकामा मुख्य सातवटा जाति छन् । त्यहाँको राजनीतिलाई जातीयताले प्रभावित पारेको छ । सन् २००७ को इथियोपियाको जनगणना अनुसार सबैभन्दा बढी ओरोमो ३४ प्रतिशत छन् । दोस्रोमा अमहारा २७ प्रतिशत छन् । सोमाली ६.२, टिगरायन ६, सिडामा ४, गुरागे २.५, वलआटा २.३, हदिया १.७ र बाँकी १६.३ प्रतिशत अन्य जातिका छन् । जाति जातिबीचको घृणाले मुख्य प्रान्तहरुमा अस्थिरता बढेको बढ्यै छ । थेगिनसक्नुको जातीय मुद्या र द्वन्द्वले इथियोपियाको अस्तित्व नै संकटमा परेको छ । राज्य नै असफल भई टुक्रा टुक्रा हुने खतरामा परेको छ ।

सुधारवादी युवा प्रधानमन्त्री अबीले राष्ट्रिय एकताका लागि उदारता देखाउँदै काम गर्दा इथियोपिया नयाँ युगमा पुग्ने आशाहरु फैलिइसकेको थियो । तर, इथियोपियामा जरा गाडिसकेको जातीय द्वन्द्व रोक्न हम्मे प¥यो । सरकारले चाल्ने कदमहरुको विरोध गर्न जातीय मुद्या जोड्ने गरियो । जे गरेपनि जातीय मुद्या जोड्ने प्रवृत्तिले झन् समस्या ल्यायो । राजनीतिलाई जातीयताले चुर्लुम्म डुबाइसकेको थियो । सरकारले जहाँ जे निर्णय लिंदा पनि जातीयताको विषय उठाइयो ।

भिन्न क्षेत्रीय राज्यका प्रमुखहरुले आफ्नो राजनीतिक दाउपेचमा जातीय मुद्यालाई जोड्न थाले । आफनो राज्यबाट विरोधी जातिकालाई धपाएर आफू अनुकूलको जातिकालाई भित्राउने र बसाईंसराईंको कार्ड बनाउने गर्न थाले । जातीय हिंसा जताततै चर्कियरह्यो । बहुमत र प्रभावशाली जातिले अर्को जातिका मान्छेलाई लखेट्न थाले । दक्षिणी इथियोपियाबाट मात्र गत वर्ष एकैपटक एक लाख मानिस विस्थापित भए ।

एउटा जातिले आफ्नो प्रभाव रहेको स्थानबाट भिन्न जातिकालाई लखेट्ने गरे । बदलामा अर्को क्षेत्रका जातिले पनि फरक जातिकालाई लखेटे । लखेटा लखेटले जातीय हिंसाको अवस्था बन्यो । निर्दोष जनता मारिइरहे । सशस्त्र गतिविधि गर्नेहरु सक्रिय भए । त्यहाँको सेना र विद्रोहीबीच विभिन्न क्षेत्रमा द्वन्द्व चल्दै आयो । जमिनमाथि कब्जा जमाउने प्रतिष्पर्धामा पनि जातीय द्वन्द्व उठाउन थालियो । अर्को जातिलाई धपाएर आफूले जमिन कब्जा गर्न जातीय मुद्या उठाउने युद्ध सरदारहरु निस्किए ।

इथियोपियामाथि दाग

अफ्रिकाको सबैभन्दा पहिलो स्वतन्त्र देश हो इथियोपिया । १० करोड जनसंख्या भएको उसले गौरवशाली इतिहासको गाथा गाउनै नपाई विभाजनको पीडा भोग्यो । बाह्य शक्तिले जातीय द्वन्द्वको भारी बोकाएर हिंसा गराएर रमाए । अस्थिरता र हिंसाबाट मुक्तिको विकल्पमा जातीय राज्यको अवधारणा ल्याएर लागू गरियो । तर, इथियोपियाले झन् ठूलो जातीय हिंसालाई थेग्नुपरिरहेको छ । जातीयताका आधारमा राजनीति गर्नेहरुले व्यक्तिगत राजनीतिक स्वार्थका लागि इथियोपियालाई अर्को विभाजनको छेऊसम्म पु¥याए ।

अफ्रिकी मुलुक इथियोपियाले लामो समय गरिबी, भोकमरी र हिंसाग्रस्त देशको दाग बोकेर विश्वमञ्चमा चिनिनुप¥यो । विभाजनको पीडा भोगेपछि विस्तारै तंग्रिएको उसले जातीय द्वन्द्वबाट उन्मुक्ति पाउन सकेन । सर्वसाधारणको के कुरा राज्यको सुरक्षाको जिम्मेवारी बोकेकाहरु पनि मारिए । जातीय राजनीतिका कारण कोही सुरक्षित नहुने अवस्था बन्यो ।

आन्तरिक द्वन्द्वमा बाह्य शक्तिले चलखेल गर्दा इथियोपियाबाट इरिट्रिया बन्यो । जसले इथियोपियालाई भूपरिवेष्ठिक राष्ट्र बनाइदियो । तल्लो तटीय समुन्द्रसँग जोडिएको सम्पूर्ण भ–ूभाग इरिट्रिया बनयो । विभाजनको घाउ बिसेक नहुँदै इथियोपियाले जातीय द्वन्द्व भोगिरहेछ । त्यहाँका भिन्न जातिहरु एक आपसमा लडिरहेका छन् । घृणा र द्वेष यतिसम्म बढेको छ कि जातीय द्वन्द्वका कारण सेनापति सियरे मेकोनेन मारिए । राज्यको सुरक्षाको कमाण्ड सम्हालेका प्रधानसेनापति आफ्नै अंगरक्षकबाट मारिए । यसको मुख्य कारण जातीय द्वन्द्व हो ।

के सिक्ने

जातीय घृणा र द्वेष डरलाग्दो हुन्छ । एउटा जातिले अर्को जातिमाथि थिचोमिचो गर्ने र जातीयताका आधारमा राजनीतिक महत्वाकांक्षा पूरा गर्ने गतिविधि दुवै कुनैपनि देशका लागि खतरनाक हुन्छ । सुन्दा मीठो लागेपनि जातीय मुद्या भयानक हुन्छ । रुवान्डाको हिंसा होस् या इथियोपियाको हिंसा नै किन नहोस् जातिय विभाजनले निम्त्याएको हो । राजनीतिमा जातीयताले जब प्रधानता पाउँछ तब त्यो देश संकटमा धकेलिन्छ । अहिले इथियोपिया असफलताको डिलमा उभिइसकेको छ । जातीयताका आधारमा संघीयताको रेखांकन गर्दा इथियोपिया बर्बादीमा पुगेको छ । यसबाट हामीले समयमै सिक्न जरुरी भइसकेको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...