‘संसद अवरुद्ध कांग्रेसको पोलिटिकल प्रोपागाण्डा हो’ : मन्त्री बाँस्कोटा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्नु उसको त्यो राजनीतिक प्रोपागाण्डामात्रै भएको टिप्पणी गरेका छन् । प्रहरी र विप्लव समूहबीच पछिल्लो समय भएको मुठभेड र यसमा तीन जनाको ज्यान गएको घट्नाबारे सोधिएको प्रश्नमा उनले भने,‘सरकार मृत्युको व्यापार होईन, जीवनको निरन्तरता दिन चाहन्छ । प्रतिपक्षी दल कांग्रेसले हामीलाई सरकारले मृत्युको व्यापार गर्यो भनेर आरोप लगाएको छ । तर, हामी त्यस्तो चाहँदैनौं ।”

कांग्रेसमा अझैपनि सत्ता गुमेको पीडा रहेको सुनाउँदै यी यावत विषयहरु उठाएर सरकारलाई खेद्न सकिन्छ कि भनेर आरोप लगाएको उनको भनाई छ । तर, यी सबै आरोप कांग्रेसको दृष्टिदोषमात्रै भएको उनले जिकिर गरे । उनले भने,‘कांग्रेसलाई सत्ता गुमेको पीडा छ, त्यसैले उसले शान्ति प्रक्रिया, लोकतन्त्रलाई सिध्याउन सकिन्छ कि भनेर दाउपेच गरिरहेको छ ।’

उनले प्रश्न गरे,‘हिंसारप्रति प्रमुख प्रतिपक्षी दल कांग्रेसको भूमिका र नियत के हो ? उसको धारणा के हो ? म सोध्न चाहन्छु।’  ‘हिंसाबारे नेपाली कांग्रेस र विप्लव समूहको एउटै धारणा हो भने यो कांग्रेसको दिनभरि विपी बन्ने र रातभरि विप्लव बन्ने चरित्र भयो ।’–बाँस्कोटाले भने । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेसमाथि यस्तो आरोप लगाएका हुन् ।

उनले भने,‘कांग्रेसको चार तारामध्ये एक तारा शान्ति, एक तारा लोकतन्त्र हो भने अब त्यसबारेमा यथार्थ खोज्ने बेला आएको छ। ऋहिले सर्वसाधारण मारिएका छन् । प्रहरी मारिएका छन् । अनि हिंसाबारे कांग्रेस र विप्लवको धाराणा एउटै हुने ?’ उनले वर्तमान सरकार कसैको पनि घेराबन्दीमा नपरेको स्पष्ट पारे । ‘सरकार कसैको घेराबन्दीमा छैन । अब हत्या र आतंकको जमाना छैन ।’–उनले अघि थपे,‘हिंसा सत्ता पक्ष र प्रतिपक्षको भन्ने कुरा हुँदैन । हिंसालाई प्रोत्साहन गरेर सरकारलाई अप्ठ्यारो पार्दै टुटाउन, फुटाउन, गिराउनको लागि कांग्रेसले जति आराधना गरेपनि नेकपा फुट्दैन । हाम्रो एकता कमजोर जगबाट बनेको छैन । सत्ता परिवर्तन हुन्छ अनि खेल्छु र भागबण्डा गरेर खान्छु भन्नु दिवा सपनामात्रै हुनेछ । कांग्रेसको भ्यागुतको धार्नी कहिल्यै पुग्दैन ।’

त्यस्तै, उनले भारतबाट आयात हुने तरकारीमा विषादी र यसलाई चेकजाँच तत्काल नगर्ने विषयबारे बोल्दै भने,‘विषादी चेकजाँच नेपाल र भारतको प्रश्न होईन । दुवै देशबाट आधिकारिक रुपमा चेकजाँच गरेर मात्रै तरकारी भित्रिन्छन । कसैको अनुचित दबाब वर्तमान सरकराले स्विकार्दैन । नेपाल–भारत सम्बन्ध नाकाबन्दी वा अखाद्य पदार्थसँग जोडिएको छैन । हामीबीच सांस्कृतिक, व्यापारिक, जनता–जनताबीचको सम्बन्ध छ, राजनीतिक र सुरक्षा सम्बन्धसँग गाँसिएको छ। एउटा आईफा अवार्ड नगर्दैमा हाम्रो सुमधुर सम्बन्ध टुट्दैन, बिग्रिँदैन् ।’


ताजा खबर

Loading...
Loading...
Loading...