Logo

प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, के कुरा भयो ?



काठमाडौं, २४ भदौ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेका छन् ।

होटल मेरियटमा भएको सो भेटमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो । भेटमा दुई देशबीच रहँदै आएको सदियौँदेखिको सम्बन्धलाई वर्तमान परिस्थितिमा थप सुदृढ गर्ने विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए।

भेटपछि उनले सञ्चारकर्मीसँग भने, “नेपालको आर्थिक विकासको प्रयासमा चीन सरकार र चिनियाँ जनताबाट हुने सहयोग र नेपालको अपेक्षाका बारेमा विस्तृतमा कुराकानी भयो ।” नेपाल र चीन सरकारकाबीच हुने सहकार्य र सहयोगको क्षेत्रलाई विस्तार गर्ने विषयमा समेत छलफल भएको उनले बताए ।

उनीहरुबीचको भेटमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि छलफल भएको थियो । “नेपालको समग्र विकासमा चिनियाँ विदेशमन्त्रीको अत्यन्त सकारात्मक, उत्साहवद्र्यक विचार पाएँ, मलाई विश्वास छ, आउने दिनमा नेपाल चीनसम्बन्ध अझ सुदृढ भएर जानेछ ।”

भेटमा नेपाल र चीनबीच आर्थिक क्षेत्रमा भइरहेका सहयोगलाई गुणात्मक ढङ्गबाट अगाडि बढाउनुपर्ने भन्नेमा पनि छलफल भएको अध्यक्ष दाहालले बताए। चिनियाँ सहयोगमार्फत नेपालको आर्थिक विकासको प्रयासमा ठूलो मद्तद्य पुग्ने विश्वास लिएको अध्यक्ष दाहालले बताए । भेटमा उनीहरुबीच नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई पनि अझ विस्तार र सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्