Logo

बागलुङमा विदेशी पर्यटक



बलेवा, १४ कात्तिक : विभिन्न पेशा व्यवसायको सिलसिलामा बागलुङ बजारमा बसोवास गर्दै आएका सर्वसाधारण तिहार मनाउनका लागि गाउँ नै फर्केकाले बुधबार बागलुङ बजार सुनसान जस्तै थियो । बुधबारसमेत सार्वजनिक बिदा भएकाले गत वर्षको जत्तिको सर्वसाधारणको चहलपल पनि बागलुङ बजारमा देखिएन् ।

दिउँसो २ बजे प्रायः सवारीको जाम हुने बागलुङ बजारको मुटु लोकतान्त्रिक चोकमा बुधबार दिउँसो एकाएक जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सर्वसाधारणको भीड लाग्यो । अमेरिकाबाट झण्डै दुई दर्जन पर्यटक बागलुङ घुम्न आउने खबरले केही दिन पहिलेदेखि नै स्वागतको तयारी थालेका बागलुङेहरु उनीहरुको स्वागतको लागि लोकतान्त्रिक चोकमा जम्मा भएका थिए ।

लामवद्ध भएर बसेका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री र प्रहरी प्रमुख नवराज भट्टलगायतले ‘भेगन’ समूहका २४ जनालाई स्वागत गरे । संसारभरि नै यो समूह शाकाहारी समूहको रुपमा चिनिन्छ ।

बागलुङ नगरपालिका– १० भकुण्डेमा रहेको अतिथि सत्कार सामुदायिक होमस्टे (घरबास)पुग्ने लक्ष्यका साथ बागलुङ आएका उनीहरुलाई नगरभित्रका अन्य पर्यटकीय क्षेत्रमासमेत घुम्नका लागि प्रेरित गर्न स्वागत गरिएको थियो । उनीहरुले मगर समाज गुठीको देउसीभैलो अवलोकन गरे ।

“बागलुङ नगरमा धेरै विदेशी पर्यटक एकैपटक आएको तथ्याङ्क छैन्”, प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले भन्नुभयो, “अरु प्रयोजनका लागि धेरै आए तर पर्यटककै रुपमा आउने भेगन पहिलो समूह बनेको छ ।” बागलुङ नगरका विभिन्न पर्यटकीय क्षेत्रको विषयमा जानकारी पाएका पर्यटक भकुण्डेको सामुदायिक घरबासमा रमाउनकै लागि बागलुङ आउनु जिल्लाकै लागि सुखद पक्ष भएको नगर प्रमुख जनकराज पौडेलले बताए ।

एक साता बागलुङमा रहने गरी उनीहरु यहाँ आएको सुवेदीले बताए । “हामीसँग घुम्ने ठाउँ धेरै छन्”, सुवेदी भन्नुहुन्छ, “प्रचारप्रसार र पर्यटन प्रबद्र्धनका लागि यो राम्रो अवसर हो ।” समूहले बागलुङ कालिका मन्दिरमा झण्डै डेढ घण्टाको नियमित आरती अवलोकन गरेको छ । “हाम्रो आरती हेर्न विदेशी पर्यटक आउनु सकरात्मक कुरा हो”, बागलुङ कालिका भगवती गुठीका अध्यक्ष तथा पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले भने ।



प्रतिक्रिया दिनुहोस्