Logo

मिडिया एलायन्सका पदाधिकारीलाई प्रधानमन्त्री ओलीले दिए बधाई, विज्ञापन बोर्ड छिट्टै गठन गरिने (भिडिओसहित)



काठमाडौं, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नवगठित मिडिया एलायन्सका पदाधिकारीलाई बधाई दिएका छन् । आज (बुधबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिडिया एलायन्सका पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आवश्यकत्ता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।  उनले मिडियाले जनतालाई सही सुसुचित गर्नुपर्नेमा जोड दिएका छन् । हालै आफ्नो प्रेस सल्लाहकार सूर्य थापाले पत्रकार ऋषि धमलासँग प्राइम टिभीको लागि दिएको अन्तर्वार्तामा ‘एक पाखे’ भनेर बोलेको कुरालाई लिएर गलत अर्थ लगाईएकोमा प्रधानमन्त्री ओलीले आपत्ति जनाए । उनले अघि भने, खबरदारीको एउटा नमूना भनौं, सूर्य थापा नाम गरेका एक जना मान्छेले समाचार दिँदा, कुराकानी गर्दा, विचार बनाउँदा एक पाखे ढंगले विचार बनाउनुहुँदैन्, एउटा पक्षमात्रै हेरेर हुँदैन्, सबै पक्ष हेरेर बनाउनुपर्छ भनेपछि हामीलाई पाखे भन्यो, एक पाखे ढंगले सोच्नुहुँदैन, सबै पक्ष, सबै पाटोमा विचार गर्नुपर्छ भन्दा कसैलाई पाखे भनेर त्यहाँ गाली कहाँ गरियो ? मतलव, निहुँ खोज्नपनि हद हुन्छ नि ? हामीलाई पाखे भन्यो, विदेशमा टेलिफोन गरेर, मेल गरेर ए साथीहरु हामीलाई पाखे भन्यो, के हेरेर बस्या छौं ? अहिलेपनि नउठ्ने हो भने ? अहिले पनि सञ्चारजगत नजाग्ने हो भने कहिले हुने ? बालुवाटारमा बसे भन्दैमा एउटा ठालूले हामीलाई पाखे भनिरहेको छ, यस्ता समाचार सम्प्रेषण ? यत्तिसारो नबुझ्नेजस्तो त मलाई लाग्दैन् ।

थापाले ‘एक पाखे’ एक पक्ष भनेर बोलेकोमा सामाजिक सञ्जालमा थापाले पाखे भन्यो भनेर टिप्पणी गरिएकोमा प्रधानमन्त्री ओलीले गुनासो पोखेका थिए । ‘कमिकमजोरी भए आलोचना गर्नुपर्छ ।’–प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले एक्लै कोही पनि चल्न नसक्ने भन्दै एक अर्काको साथ, आड, भरोसा चाहिने बताए । उनले भने,”एउटा भनाई छ नि, ढुंगाको भर माटोलाई, माटोको भर ढुंगाको । पर्खाल बनाउँदापनि ईटाको भर, बालुवा वा सिमेन्टलाई हुन्छ, त्यसका भरमा फेरि ईँटा बस्छ । ईँटै ईँटा भयो भनेपनि हुँदैन्, त्यो घोलेको सिमन्टै सिमेन्ट भएपनि हुँदैन् । त्यसलाई अड्याउनको लागि केही चाहिन्छ ।”

समाजमा एक अर्का क्षेत्रबीच पारस्परिक सहयोग, एकता भयो भने त्यो समाज सिँगै उठ्ने उनको भनाई छ । उनले थपे,”त्यहाँ मिडियापनि उठ्छ। अरु उद्योगहरुपनि उठ्छन । सरकारपनि माथि उठ्छ । विकासपनि माथि उठ्छ । शिक्षापनि माथि उठ्छ । स्वास्थ्यपनि माथि उठ्छ । सबै चीज माथि उठ्छ । ती एक अर्कामा सहयोग र कोअर्डिनेशन भएन भने कुनैपनि अगाडि बढ्न सक्दैनन् । सरकारले मिडियालाई सहयोग गर्न कञ्जुस्याँई गर्ने, मिडियाले सरकारलाई राम्रो गरेपनि त्यसको समर्थन गर्न कञ्जुस्याँई गर्ने, एकले अर्कोलाई समर्थन गर्न कञ्जुस्याँई गर्ने भएपछि उपनि कमजोर, उपनि कमजोर । उसलाई पनि चल्न गाहो हुन्छ। उसलाई पनि चल्न गाहो हुन्छ । त्यसकारण यसमा परस्पर भावनाका साथ, सहयोगी भावनाका साथ काम हुन जरुरी छ ।”

नेपाली मिडियाले विश्वसनियताको बाटो छान्नुपर्ने र जनताको प्रगतिको आकर्षणको बाटो छान्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । अहिलेको सरकारले मिडियालाई वास्ता गर्दैन र मिडियासँग दुश्मनी गर्छजस्तो गरि चर्चा चलाईएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने-“त्यो तपाईँहरुले देख्नुभएको छ । संविधान दिवसका दिन, संविधानको बारेमा कति वटा मिडियाले चर्चा गरे ? त्यो अहिलेको सरकारको विषय हो र संविधान ? हामी नेपालीहरुले धेरै दशक लडेर ल्याएको उपलब्धि होईन संविधान ? हामी हरेकले तिरेको करबाट, त्यो मात्रै होईन राष्टको चार वर्षको अवधि संविधान निर्माणको प्रतिक्षामा वित्यो, अलिक समय चुनाव भएन, त्यो अवधि खेर गयो । संविधान तीन चार महिना, ६ महिनामा तयार गर्न सकिन्थ्यो, त्यसका लागि हामीले झण्डै ७ वर्ष, त्यति समय लगाउनुपर्यो । रहरले मात्रै त्यत्रो समय खेर गएको होईन । त्यहाँ काउन्टर फोर्स थिए ।”

प्रधानमन्त्री ओलीले आफू जेल पर्दा नेपालमा टेलिभिजन नभएको सुनाए । उनले भने,‘२०४४ सालमा कतै/कतै थिए । अहिले जुन किताब चाहिएपनि मोवाईलमा छ । मैले डेमोक्रेसीको लागि लडाई लडेको हो । म कहिले विद्यार्थीको रुपमा, कहिले समर्थकको रुपमा, कार्यकर्ताको रुपमा, कहिले भूमिगत कार्यकर्ताको रुपमा, कहिले जेलको कैदीको रुपमा त कहिले थुनुवाको रुपमा, अनि कहिले मन्त्रीको रुपमा र आज यो कार्यकारी प्रमुखको रुपमा छु । स्वाधिनता र स्वतन्त्रताको लागि लडेको मान्छे छु । मौलिक हकहरुको लागि लडेको मान्छे हुँ । मेरो लागि मात्रै लडेको हो र ? मैले सम्पूर्ण नेपाली जनताको लागि लडेको हुँ । देशको स्वतन्त्रताको लागि लडेको हो । किसानको लागि लडेको हो । विद्यार्थीको लागि लडेको हो । श्रमजिवी पत्रकारको लागि लडेको हो ।’

उनले अघि भने” ऋषिजीले श्रमजिवी पत्रकारको कुरा गरिहाल्नुभयो, यहाँनिर एक किसिमको क्ल्यास होला । तर, मैले श्रमजिवी पत्रकारको न्यूनतम पारिश्रमिक तोकेको थिएँ । त्यो कसैलाई ठिक लाग्ला, कसैलाई ठिक नलाग्ला । ठिक लाग्नेहरुपनि छन् त्यसमा, नलाग्नेहरुपनि छन् । किनभने जसले तिर्नुपर्छ, त्यसलाई नलाग्ला । जसले लिन पाउँछ त्यसलाई ठिक लाग्ला । आवश्यकत्ता र सम्भावनाका बीचमा कहिले फरक पनि परेको हुन सक्ला । अनुचित त होईन, त्यो । तर, कसैलाई त्यो पेमेन्ट गर्न गाहो पनि परेको होला । त्यो यति न्यून छ कि, जसले प्राप्त गरेका छन, त्यसले परिवार धान्न फेरि पनि गाहो होला ।”

प्रधानमन्त्री ओलीले श्रमजिवी पत्रकारको न्यूनतम पारिश्रमिक आफूले नै तोकेको सुनाए । उनले भने,‘दिन सक्नेलाई ठीक लाग्ला । नसक्नेलाई ठीक नलाग्ला ।’ तर, उनले न्यूनतम पारिश्रमिकले घरबार नचल्ने बताए । प्रधानमन्त्री ओलीले देश कानूनबमोजिम चल्ने बताए । उनले भने,‘म कानूनबमोजिम नै चल्छु । राज्यको अधिकारबाट म त्यही कानूनबाट परिचालित छु । सरकारलाई कानूनले अधिकारका सिमाहरु तोकेको छ । हामी कानूनी राज्यको लागि लडेको हो । सबैले संविधानले दिएका अधिकारको प्रयोग गर्नुपर्छ । अधिकार भनेको कर्तव्य पालनाको आधार हो । मेरो पनि प्रधानमन्त्रीको हैसियतले कर्तव्य पालना गर्ने अधिकार हो ।’

उनले अहिलेको परिस्थिति कोभिड–१९ को कारणले आएको र पूरा दुनियाँ नै कोभिडबाट आक्रान्त भएको बताए । उनले मिडियालाई सरकारको तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाए । उनले भने,‘तपाईहरु आउन सक्नुहुन्छ । सिधा मलाई भन्न सक्नुहुन्छ । क्लिनफिड लागु हुन्छ ।’ आज यातायात र सञ्चारले विश्वलाई साँघुरो बनाएको उनको भनाई छ । उनले मिडियासँग सघन सम्पर्क र सम्वादको आवश्यक रहेको औंल्याए । प्रधानमन्त्री ओलीले विज्ञापन बोर्ड छिट्टै गठन गरिने बताए । उनले बेसार पानी खाँदा फाईदा हुन्छ भनेर आफूले बोल्दा विरोधका लागि मात्रै विरोध गरिएको पनि टिप्पणी गरे । उनले आफूले थाहा पाएको कुरा गरेको बताए । कतिपयले घरमा बेसार पानी खाएको तर बाहिर आएर विरोध गरेको पनि उनले टिप्पणी गरे ।

कार्यक्रममा मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले आफूहरुले अहिलेको अवस्थामा सफ्ट लोन खोजेको र क्लिनफिड लागु होस भन्ने धारणा राखेका छन् । अध्यक्ष राजकर्णिकारले विज्ञापन बोर्ड गठन होस भन्ने पनि भनाई राखेका थिए ।

कार्यक्रममा एलायन्सका कार्यकारिणी सदस्य तथा प्राइम टाईम्स टेलिभिजनका अध्यध ऋषि धमलाले अहिलेको अवस्थामा सरकारले मिडियालाई साथ र सहयोग गर्नुपर्ने धारणा राखेका थिए । उनले प्रधानमन्त्री ओलीले नेपाली मिडियालाई राम्रोसँग बुझेको उल्लेख गर्दै आफूहरुलाई सहयोग हुने अपेक्षा राखेका थिए । धमलाले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाली मिडियाको बारेमा अध्ययन गरेको र राम्रोसँग बुझेको छ व्यक्तित्व हुनुहुन्छ, हाम्रो आग्रह सफ्ट लोन सरकारले उपलब्ध गराओस भन्ने छ । सरकारले यस्तो सहुलियत दिए नेपाली मिडिया बाँच्छ । अर्थमन्त्री र सञ्चारमन्त्री पनि संयोगले प्रधानमन्त्रीज्यू नै हुनुहुन्छ । श्रमजिवी पत्रकारको समस्या पनि छ ।’

कार्यक्रममा मिडिया एलायन्सका पदाधिकारीहरू रामकृष्ण मानन्धर, राजु कँडेल, विजय पौडेल, र महेन्द्र शेरचनले आ–आफ्नो धारणा राखेका थिए । सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउँदै लगानीकर्ताको हकहितका लागि हालै मिडिया अलायन्स नेपाल नामक संस्था स्थापना भएको हो ।

एभिन्यूज टिभीका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा गठन भएको अलायन्सा राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टिभीका अध्यक्ष राजु कँडेल उपाध्यक्ष छन् । इमेज च्यानल प्रालीका सीईओ लक्ष्मण हुमागाईँ महासचिव, इम्प्रेशन पब्लिकेशन तथा मिडिया प्रालीका सीईओ उज्ज्वल शर्मा कोषाध्यक्ष रहेका छन् । सदस्यहरुमा जनता प्रकाशन तथा प्रसारण लिमिटेडका अध्यक्ष डा. विजय शर्मा, प्राइभ टिभीका अध्यक्ष ऋषि धमला, एपी वान टिभीका सीईओ राजेन्द्र शाक्य र रिपब्लिका मिडिया प्रालीका सीईओ सम्बृद्धि ज्ञवाली छन् भने सल्लाहकारहरुमा अन्नपूर्ण नेटवर्क प्रालीका अध्यक्ष रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालीका विनोद ज्ञवाली रहेका छन् । PHOTO & VIDEO SOURCE: NEWS AGENCY NEPAL/FACEBOOK



प्रतिक्रिया दिनुहोस्