Logo

संविधानमाथि नै प्रहार गर्नेहरूलाई विदा गर्ने संकल्प गरौं : प्रकाशमान सिंह



काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति र प्रधानमन्त्रीकै गलत भूमिकाका कारण गणतन्त्र, संघीयता, समावेशीता नै संकटमा परेको टिप्पणी गरेका छन् । गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै पूर्व महामन्त्री सिंहले यस्तो बताएका हुन् । अहिले संविधानमाथि प्रहार भएकोले आफूहरु त्यसको संघर्षमा उत्रिनुपरेको पनि उनले उल्लेख गरेका छन् । उनले संविधानमाथि नै प्रहार गर्नेहरूलाई विदा गर्ने संकल्प गर्नुपर्ने पनि बताएका छन् ।

सन्देशमा उनले भनेका छन्-“आज जेठ १५ । नेपाली जनताको लामो संघर्ष र बलीदानीको जगमा गणतन्त्र घोषणा भएको दिन । गणतन्त्र दिवस मनाइरहँदा आज हामी एकातिर कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छौं, अर्कोतिर गणतन्त्र मार्फत संस्थागत हुँदै गरेको संविधान माथिको प्रहार विरुद्ध संघर्षमा उत्रनु परेको छ । गणतन्त्रमार्फत जनताका छोराछोरी देशको अभिभावक बनायौं । तर, आज राष्ट्रपति र प्रधानमन्त्रीकै गलत भूमिकाका कारण गणतन्त्र, संघीयता, समावेशीता नै संकटमा परेको छ । नेपाली जनता कोरोना महामारीमा रहेका बेला वर्तमान सरकारको प्राथमिकतामा जनताको जीवन रक्षाको विषय परेन । संविधानको पालक ९राष्ट्रपति० र कार्यान्वयनको मूल दायित्व रहने प्रधानमन्त्रीका पछिल्ला असंवैधानिक कदमले देशलाई अनिश्चयको अँध्यारो सुरूङतर्फ धकेलेको छ । हिजो गणतन्त्रका लागि लडेका सबै शक्ति पुनः एकपटक जनताको मतबाट निर्वाचित प्रधानमन्त्रीको स्वेच्छाचारी कदमकाविरूद्ध गणतन्त्र, संविधान र संसदको रक्षार्थ राजनीतिक र कानुनी रूपमा प्रतिवादमा उत्रिएका छौं । निश्चित छ, गणतन्त्र र परिवर्तनका एजेन्डा विरोधी शक्तिलाई नेपाली जनताले छिट्टै परास्त गर्नेछन् ।”



प्रतिक्रिया दिनुहोस्