Logo

वामदेवद्धारा गिरिजा, प्रचण्ड र माधव नेपाललाई युगान्तकारी संघर्षका महानायकहरुको संज्ञा



काठमाडौं, १५ जेठ । नेकपा (एमाले) का नेता वामदेव गौतमले नेपाललाई गणतन्त्र ल्याउनेमा सबैभन्दा ठूलो भूमिका गिरिजा प्रसाद कोइराला, पुष्पकमल दाहाल र माधव नेपाल भएको भन्दै उनीहरुलाई युगान्तकारी संघर्षका महानायकको संज्ञा दिएका छन् । आज गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता गौतमले यस्तो बताएका हुन् ।

उनले भनेका छन् नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ। तर वि। स।२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरु मध्ये गिरिजा प्रसाद कोइराला हामी वीच हुनुहुन्न अरु दुइजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।”

तर, नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा रहेको उनको भनाई छ । उनले को को नेता विरुद्धमा थिए ? भन्ने कुरा खुलाएका छैनन् । उक्त बैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति आफू नै भएको पनि गौतमले स्मरण गराएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्