Logo

बाढीको जोखिमबारे पूर्व जानकारी पाउन ११५५ फोन गर्नुहोस्



काठमाडौं, २ असार । मनसुन सुरु भएसँगै बाढी पहिरोका घटना बढ्न थालेपछि देशभरका नदी खोलामा बाढी आएको छ । अझै केही दिन वर्षा हुने भएकाले बाढीको जोखिम अझै बढ्ने मौसमविदले बताएका छन् ।

बाढी पहिरोबाट हुने जनधनको क्षति रोक्न पूर्व सूचना प्रणालीलाई व्यवस्थित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार वर्षा र बाढीबारेको जानकारी थाहा पाउन ११५५ नम्बरमा फोन गर्न सकिन्छ । यस्तै ११४९ नम्बरमा फोन गरेर उद्धारको लागि सहायता माग्न सकिन्छ । यस वर्ष बाढी तथा पहिरो दुवैको पूर्वानुमान गर्न सकिनेगरी प्रणालीको विकास गरिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार पहिलेका वर्षहरुमा बाढीको मात्र पूर्वानुमान गर्ने गरिएकोमा यस वर्षदेखि पहिरोको पनि पूर्वानुमान गर्न सकिने सूचना प्रणाली विकास गरिएको छ । पहिरोको अति जोखिम रहेका नौ जिल्लामा यो प्रणाली विकास गरिएको पनि प्राधिकरणले जनाएको छ ।

यसरी पूर्वानुमान भएसँगै जोखिम क्षेत्रमा रहेका व्यक्तिलाई त्यहाँबाट अन्यत्र व्यवस्थापन गर्नेगरी तयारी गरिएको छ । यस्तै जल तथा मौसम विज्ञान विभागको वेबसाइटमार्फत वर्षा र बाढीको अवस्था तथा पूर्वानुमान पनि दिने गरिएको छ ।

बाढी सम्भावित क्षेत्रमा साइरन बजाएर तथा एसएमएस पठाएर पनि सावधानी अपनाउन आग्रह गर्ने गरिएको विभागले जनाएको छ । यस वर्ष देशभर गएको वर्षभन्दा बढी पानी पर्ने मौसमविदले यसअघि नै बताइसकेका छन् ।

दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, डोटी, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, अर्घाखाँची, बागलुङ, भोजपुर, धादिङ, गोर्खा, गुल्मी, इलाम, काभ्रेपलाञ्चोक, कास्की, खोटाङ, लमजुङलगायतका जिल्लामा पहिरोको जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कञ्चनपुर, कैलाली, बाँके, दाङ, रौतहट, सिरहा, सप्तरी, पर्सा, मोरङ, चितवनलगायतका अधिकांश जिल्लामा बाढी तथा डुबानको जोखिम रहेको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्