Logo

माधव नेपालको केन्द्रीय कमिटी बैठकमा भीम रावलमाथि खनिए नेताहरु



काठमाडौं, २१ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा नेताहरु डा. भीम बहादुर रावलमाथि खनिएका छन् । बैठकमा सहभागी एक नेताकाअनुसार आजको बैठकमा २२ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । सुरुमा वरिष्ठ नेता माधव कुमार नेपालले सम्बोधन गरेका थिए ।

उनले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको बारेमा लामो समय लिएर आलोचना गरेका थिए । उनले ओलीलाई जालीझेली, ढाँट, छलकपट गर्ने नेता, दम्भी र अहंकारीको रुपमा चित्रण गर्दै उनीबाट फेरि धोका हुनसक्ने भन्दै एकताको लागि सुझबुझपूर्ण तवरले मात्रै अघि बढ्नुपर्ने धारणा राखेका थिए । पछिल्लो समय समान अधिकारसहित अध्यक्ष दिने प्रस्ताव ओलीले नै गरेको र अहिले आएर सार्वजनिक रुपमा आफूले त्यस्तो प्रस्ताव नगरेको भनेर ओलीले भनेको विषयपनि नेता नेपालले उल्लेख गरेका थिए ।

आजको बैठकमा यसअघि एकताको लागि गठित कार्यदलमा माधव नेपाल तर्फका संयोजक भीम रावलले दश बुँदे सहमति गर्नुको आधारबारे वस्तुगत जानकारी गराएका थिए । तर, रावलले सम्बोधन गर्दैै गर्दा केन्द्रीय सदस्यहरु भने उनीमाथि नै खनिएका थिए । नेताहरु विजय पौडेल, जगन्नाथ खतिवडा, नेतृ राकुमारी झाँक्रीलगायतले रावलको पछिल्लो भूमिकामाथि आपत्ति जनाएका थिए ।

उनीहरुले माधव नेपालको तर्फबाट प्रतिनिधि भएर कार्यदलमा बसेको तर ओलीको दूत बनेर कुरा गरेको भन्दै आलोचना गरेका थिए । नेतृ झाँक्रीले त ओलीको सामू रावल लम्पसार पर्ने गरेको भन्दै कडा आलोचना गरेकी थिईन् । आफूमाथि नेताहरुले आलोचनाको वर्षा बर्साएपछि नेता रावलपनि प्रतिकारमा उत्रिएका थिए । आजको बैठकमा बोल्ने अधिकांश नेताहरुले केपी ओलीसँग कुनैप्नि हालतमा सम्झौता गर्न नहुने धारणा राखेका थिए ।

file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्