Logo

“अहिले तदर्थ विशेष महाधिवेशन, फागुनपछि नियमित महाधिवेशन गरौं”



काठमाडौं, साउन २२ । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले कोभिड महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति र क्रियाशील सदस्यता विवादका कारण पार्टीको तोकिएको मितिमा नियमित महाधिवेशन हुन नसकेको स्थितिमा तदर्थ विशेष महाधिवेशन उपयुक्त हुने बताएका छन् । भोलि अदालतमा पार्टीको वैधानिक अस्तित्वको प्रश्न उठ्न सक्ने स्थिति आउन दिन नहुने नेता केसीको धारणा छ ।

आगामी फागुनमा स्थानीय तहको चुनाव हुने भएकाले पार्टीमा वडा–वडासम्म क्रियाशील सदस्यताको चरम विवाद, स्थानीय अधिवेशन र प्रतिस्पर्धाले सिर्जना गर्ने तिक्तता र मनमुटावले स्थानीय निर्वाचनमा नराम्रो असर पर्न सक्ने भएकाले यस्तो विकल्प दिएको उनले बताए । “मैले दुई–तीन महिनाअघि नै पार्टीको केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनको प्रस्ताव प्रस्तुत गरेको हुँ,”आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै उनले भने, “बरु स्थानीय तहको निर्वाचनलगत्तै नियमित महाधिवेशन गर्नु उपयुक्त देखिन्छ ।”

१३औँ महाधिवेशन प्रतिनिधिहरूको सहभागितामै विशेष महाधिवेशन गर्न सकिने विकल्प उनले सुझाएका छन् । यसमा समायोजित भएका पार्टीका सदस्यहरूलाई यथास्थितिमा राख्ने सहमति हुनुपर्ने धारणा पनि उनले राखे । कांग्रेसको वैधानिक अस्तित्व रक्षाका अन्य कुनै उत्तम विकल्प छन् भने त्यसमा छलफल गर्न सकिने तर पाँच पटकसम्म महाधिवेशनको मिति तोक्दै पर सार्दै जानु उचित नहुने उनको तर्क छ ।
नेता केसीले कांग्रेसले २०१२ मा वीरगन्ज महाधिवेशन सम्पन्न भएको दुई वर्षमै २०१४ मा विशेष अधिवेशन विराटनगरमा गरेको तथ्यलाई स्थापित नजिर मानेर आफूले विशेष महाधिवेशन गरौँ भनेको उनले अन्तर्वार्तामा बताए ।

“कोभिड महामारीकै बीचमा पनि अमेरिका तथा कोरियामा राष्ट्रपतीय, भारतमा पाँचवटा प्रान्तका निर्वाचन, १३ हजार मतदाता रहेको नेपाल पत्रकार महासंघको निर्वाचन भएकै हो,” उनले भने, “कांग्रेसको महाधिवेशनका लागि केन्द्रमा मात्र सम्भव नभए ७ प्रदेशमा केन्द्र बनाएर, त्यो नभए पुरानो १४ अञ्चल वा त्यो पनि नभए ७७ वटै जिल्लामा बुथ राखेर निर्वाचन गर्न सकिन्छ ।”

वैधानिक अस्तित्वको रक्षा र वैकल्पिक सुरक्षित मार्ग प्रस्तावित गर्नु नै नेतृत्वको कर्तव्य हुने नेता केसीको भनाइ छ । “पार्टी नेतृत्वले समयमै महाधिवेशन गराए हामी खुसी नै हुन्छौं विशेष महाधिवेशन गर्नु पर्दैन,” उनले भने, “महाधिवेशन सम्भव नहुने स्थितिमा विभिन्न विकल्प खोजीका क्रममा मैले लिखित विकल्प दिएको हुँ । कांग्रेस एक जनाको पार्टी होइन, सबैको हो, चुनौती पनि व्यक्तिविशेषको होइन, सबै साथीहरुको हो । लकडाउनको ६ महिनालाई शून्य समय मानेर जाने विकल्प भोलि अदालतलाई कति स्वीकार्य हुन्छ, त्यो पनि विचार गर्नुपर्ने हुन्छ । वास्तवमा अदालतले दिएको शून्य समयको छुट त करदाताहरूलाई मात्र हो ।”

अहिले कांग्रेसले सम्पूर्ण रुपमा पार्टी नेतृत्वको सरकारलाई सहयोग गर्ने तर नेतृत्वले सहयोग लिन जान्नुपर्ने नेता केसीले बताए । “तीन हप्तामै सरकारले स्वरुप लिएन वा यो भएन, त्यो भएन भन्ने बेला भएको छैन,” उनले भने, “मन्त्रिपरिषद् विस्तार प्रधानमन्त्रीको विशेषाधिकार हो तर अहिले गठबन्धन सरकार भएकाले सहमतिमै काम हुनुपर्छ ।” देउवा सरकारलाई सफलताको विकल्प नभएको उनले बताए । लुम्बिनी प्रदेशमा सांसदलाई बन्धक बनाएर राखिएको घटनाको वास्तविकता छानबिन गरिनुपर्ने पनि उनले कार्यक्रममा बताए ।

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम