Logo

हिल्सा पुग्यो सीमा अनुगमन टोली



सिमकोट, १ असोज: नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ । सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

नाम्खा गाउँपालिका–६ लिमी लाप्चामा रहेको १२ नं स्तम्भको अध्ययन गरेर उक्त टोली हिल्सा पुगेको हो । मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा रहेको सीमा अध्ययन समितिका सदस्य र नाम्खा–६ का स्थानीयवासी लिमी लाप्चा पुगेर अध्ययनपछि हिल्सामा रहेको सीमास्तम्भको अध्ययनका लागि त्यहाँ पुगेका हुन् । टोलीमा संयोजक आचार्यसँगै सदस्य उमेशराज जोशी, किशोर श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डङ्गोल, दयानन्द जोशी र कपिल कटुवाल छन् ।

नाम्खाको किटखोलामा रहेको ५ नं सीमास्तम्भको अध्ययन गर्न टोली हिल्सातर्फ गएको छ । नाम्खाको वडा नं ६ लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीयवासी टोली पनि लिमी लाप्चाको १२ नं सीमास्तम्भमा पुगेका थिए । मन्त्रालयको उक्त टोलीले भदौ २७ गते सिमकोटबाट लाप्चातर्फ प्रस्थान गरेको थियो । हुम्लामा पर्ने नेपाल–चीन सीमाका १५वटै स्तम्भको अध्ययन गर्ने गरी काम थालिएको टोलीका संयोजक एवं गृह मन्त्रालयका सहसचिव आचार्यले बताए ।-रासस



प्रतिक्रिया दिनुहोस्