Logo

पहिरामा ज्यान गुमाएका परिवारलाई २ लाख



मान्म, १० कात्तिक । कालीकोटमा वर्षाका कारणले पहिरामा परी ज्यान गुमाएका परिवारलाई रु दुई लाख राहत हस्तारन्तरण गरिएको छ । गत असोज ५ गते परेको अविरल वर्षाका कारण पहिरासहित रुख आएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको हो ।

रास्कोट नगरपालिका– ४ मा पर्ने लडेखोलामा वर्षाले ढालेको रुख लागेर मृत्यु भएका सान्नी त्रिवेणी गाउँपालिका–७ का २३ वर्षीय सुरेन्द्र धमलाले ज्यान गुमाएका थिए । जिल्ला विपत् व्यवस्थापन समितिले मृतक सुरेन्द्रका बुबा अमनाथलाई रु दुई लाख रकम हस्तान्तरण गरेको हो ।

सङ्घीय सरकारको मापदण्डअनुसार जिल्ला विपत् व्यवस्थापन समितिले राहत रकम उपलब्ध गराउने निणर्य गरेको र सोही रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । “अन्य स्थानका बाढीपहिरो पीडितलाई पनि चाँडै राहत उपलब्ध गराइनेछ”, उनले भने, “पीडितलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ ।”

गत असोज ५ गते बिहान स्युना गाउँ जाने क्रममा माथिबाट पहिरासँगै खसेको रुखले लागेर सुरेन्द्र गम्भीर घाइते भएका थिए । घाइते सुरेन्द्रको रास्कोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । जिल्लामा बाढीपहिराका कारणले यसै महिना एक जनाको मृत्यु भएको र राहतका लागि पहल थालिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्