Logo

“माओवादीमा प्रचण्डको विकल्प छैन तर उम्मेदवारी दिने अवसर छ”



काठमाडौं, ५ मंसिर । नेकपा (माओवादी केन्द्र) निर्वाचन विभागका प्रमुख विष्णुपुकार श्रेष्ठले पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व निर्विकल्प भए पनि उम्मेदवारी दिने अवसर रहेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले भने, “माओवादी केन्द्रमा तलदेखि माथिसम्म निश्चित विधि र प्रक्रिया अनुसार निर्वाचन सुरु भएको छ । निर्वाचन हुने भएपछि विकल्प छँदै छैन भन्न मिल्दैन । प्रचण्डको विकल्पमा उठ्ने अवसर पनि छ । पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा भने प्रचण्डको विकल्प छ नै भन्न सकिँदैन।”
माओवादी केन्द्रले समयको माग अनुसार निर्वाचन प्रक्रिया सुरु भएको उनले बताए । उनले भने, “हिजो पनि जनताले मन नपराएका व्यक्ति मात्र नेतृत्वमा पुगेका थिएनन् । आज पनि निर्वाचन पद्धतिबाट असल मानिस नै पुग्छन् भन्ने पनि होइन । विधि, पद्धतिबाट जाँदा पार्टी गतिशील बन्छ । गुनासो कम हुन्छ । स्वतन्त्र रुपले आम जनताको काम गर्दा जिम्मेवारी पाउन सक्छु भन्ने वातावरण सिर्जना हुन्छ । त्यसैले माओवादी विधि र प्रक्रियामा प्रवेश गरेको हो ।”

अनुभवको अभावका साथै राजनीतिक दलहरुको बीचमा उच्चस्तरीय सहमति कायम हुन नसक्दा शान्ति सम्झौता १५ वर्षसम्म कार्यान्वयन नभएको उनले औंल्याए । उनले भने, “शान्तिप्रक्रिया जहाँको तहीँ छ भन्ने त होइन । तर संक्रमणकालीन न्यायको उचित समापन अत्यन्त ढिलो भएको छ । द्वन्द्वपीडितले न्याय पाउन सकेका छैनन् । सरकारले शान्तिप्रक्रिया छिटै टुंगो लगाउन प्रतिबद्धता जनाएको छ । द्वन्द्वका समस्या समाधान हुने केही आशा जागेको छ ।”
द्वन्द्वकालका २६ सय हतियार अझै पनि बाहिर छन् भन्ने तथ्यांक आएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता श्रेष्ठले भने, “तत्कालीन माओवादीका हतियार संयुक्त राष्ट्र संघलाई साक्षी राखेर राज्यलाई बुझाइएको हो । त्यसैले माओवादीले हतियार बाँकी राखेको छ जस्तो लाग्दैन । त्यसको यथेष्ट प्रमाण पनि छैन । त्यस्तोे भएको भए त कति ठाउँमा विद्रोह हुन्थ्यो होला नि ।”



प्रतिक्रिया दिनुहोस्