Logo

कम्तीमा टाउको मात्र भए पनि सर्वसम्मत भइदिए हुन्थ्यो: पोखरेल



काठमाडौं, ८ मंसिर । नेकपा एमालेका सांसद एवं नेता कृष्णभक्त पोखरेलले पार्टीको दसौं महाधिवेशनमा सबै पदमा नसके पनि कम्तीमा टाउको (अध्यक्ष) सम्म सर्वसम्मत भइदिए हुन्थ्यो भन्ने आम कार्यकर्ता भावना रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “पार्टीमा धेरैथरी मनोविज्ञान मिलाउनुपर्ने अवस्था छ । सकेसम्म सबै पदमा सर्वसम्मत भए हुन्थ्यो । नसके तल जे भए पनि टाउको मात्र मिले पनि हुन्थ्यो भन्ने आम कार्यकर्ताको भावना छ ।”
सर्वसम्मत हुन नसकेमा जसले जित्छ, उही नेता हुने उनले बताए । उनले भने, “चुनाव लडेर हार्दैमा कोही नेता नहुने होइन । गिरिजाप्रसाद कोइरालासँग लडेर हार्दा शेरबहादुर पनि नेता हुनुभयो, गिरिजाप्रसादसँग लडेर नरहरि आचार्य पनि नेता हुनुभयो । हार्नेको पनि केही न केही व्यवस्थापन भइहाल्छ । १० प्रतिशत मनोनीत भइहाल्नुहुन्छ । लोकतान्त्रिक निर्वाचन विधिबाट हारजित गर्नु राम्रो पनि हो ।”
उनले यस पटक आफू केन्द्रीय सदस्यको दाबेदार रहेको बताए । उनले थपे, “म दुई चोटि सांसद भएँ, चितवन जिल्ला अध्यक्ष भएँ, अब केन्द्रीय सदस्य दाबेदार हुँ ।”
नेता पोखरेलले दसौं महाधिवेशनका लागि अन्तिम तयारी भइरहेको पनि बताए । उनले भने, “सिंगै चितवनलाई दुलहीजस्तै सिँगारेका छौं, नारायणी किनारामा ५ लाख जनता, प्रतिनिधि र विदेशी पाहुनालाई स्वागत गर्न तम्तयार छौं । सौराहामा ३५ सय बेड रिजर्भ छ । दस वटा क्लस्टर बनाएर भोजन, आवास, गाडीको प्रबन्ध भएको छ । उद्घाटन सत्र हेर्न गैंडाकोट, पोखरा बसपार्क, पुल्चोकमा डिस्प्ले राखेका छौं । मेची महाकाली अभियानमा पनि लाखौंको व्यवस्थापन गरेकाले खासै गाह्रो छैन ।”
एमालेले यसपटक कसैसित चन्दा नउठाएको र कार्यकर्ताले सय रुपियाँ उठाएर सहयोग गरेको पनि उनले दाबी गरे ।

 



प्रतिक्रिया दिनुहोस्