Logo

भीम रावल ‘ब्याक’ नभए के हुन्छ, ‘रिजल्ट’ सबैलाई थाहा छः पद्मा अर्याल



काठमाडौं, ९ मंसिर । नेकपा एमालेकी नेतृ पद्मा अर्यालले अध्यक्ष केपी ओलीसँगको संवादपछि भीम रावल ‘ब्याक’ हुने ठोकुवा गरेकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ अर्यालले भनिन्, “दसौं राष्ट्रिय महाधिवेशनमा ओलीको विकल्प छैन । पार्टीको सामू आएका गम्भीर चुनौती सामना गर्न पनि ओलीले नै नेतृत्व गर्नुपर्छ । नेतृत्वसँगको संवादमा बसिरहँदा भीम रावल ब्याक हुनुहुन्छ । ब्याक नहुँदा आउने रिजल्ट त भीम रावललाई पनि थाहा छ, हामीलाई पनि थाहा छ । मलाई लाग्छ, एमाले त्यो ठाउँमा पुग्दै पुग्दैन ।”
वडा, पालिका हुँदै प्रतिनिधि चयनसम्म सहमतिमा औंल्याउँदै नेतृ अर्यालले सर्वसम्मतिका लागि अधिकतम प्रयत्न हुने बताइन् । उनले थपिन्, “यो एकताको महाधिवेशन हो । यसले केही सन्देश पनि दिनु छ । सन्तुलन कायम गर्न पनि हेक्का राख्नुपर्नेछ । त्यसकारण सर्वसम्मतिका लागि अधिकतम प्रयत्न हुन्छ । त्यो नभए मर्यादित रुपमा निर्वाचन प्रक्रियामा गएर टुंग्याउनुपर्ने हुन्छ ।”
महाधिवेशनमा प्यानलगत उम्मेदवारी पर्ने देखिँदै छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भनिन्, “कुनै पदका निम्ति चाहना व्यक्त हुँदैमा फलानाको विरुद्ध भन्न मिल्दैन । अध्यक्षपछिको वरीयताको पद भएकाले वरिष्ठ उपाध्यक्षको चाहना राख्ने धेरै नताहरु हुनुहुन्छ । कमरेड ईश्वर पोखरेल दुईचोटि महासचिव हुनुभएको हो । उहाँको चाहना स्वाभाविक हो । त्यसका आकांक्षी सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा लगायत सबै नेताको व्यवस्थापन हुन्छ । प्यानलगत उम्मेदवारीको कुरा त्रुटिपूर्ण विश्लेषण हुन् । भ्रामक अफवाह हुन् ।”

चितवन महाधिवेशनमा ३० प्रतिशत महिला प्रतिनिधि छानिएकाले यसपटक केन्द्रीय समितिमा प्रतिनिधित्व बढ्ने उनले बताइन् । उनले भनिन्, “समावेशी सिद्धान्तका आधारमा महिला आरक्षण गरेर अघि बढेका छौं । अघिल्लो महाधिवेशनभन्दा अहिले महिलाको संख्या उल्लेख्य बढ्छ । पार्टी कार्यकर्ता व्यवस्थापनको मूल जिम्मेवारी नेतृत्वको हो । नेतृत्वका तर्फबाट के निष्कर्ष आउँछ, त्यसमा आफूलाई उभ्याउनु हामी सबैको दायित्व हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्