
काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको चौधौं महाधिवेशनमा सभापति र महामन्त्री पदमा उम्मेदवारी दिन्छु भन्ने महिला नदेखिएको बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ संग्रौलालाले भनिन्, “हामी महिला पनि पार्टीको नेतृत्वमा जानुपर्छ भनेका भन्यै छौं । महाधिवेशन प्रतिनिधिमा एक तिहाइ महिला आउनुभएको छ । तर कुनै महिला महामन्त्री र सभापतिमा उठ्छु भनेर अघि सर्नुभएको छैन । हामी जे बोल्छौं, त्यो गर्न सकिरहेका छैनौं । पदाधिकारीमा उठ्न खुट्टा कमाउनुको कारण के हो ? म छलफल गर्दैछु ।”
सुजाता कोइरालाले सभापतिमा उठ्ने कुरा गरिरहनुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा संग्रौलाले भनिन्, “सुजाताजीले धेरै पहिले सभापतिमा उठ्छु त भन्नुभएको हो । तर बीचमा फेरि सेलाएको छ । महाधिवेशनमा मनोनयन गर्नुभयो भने भन्न सकिएला ।”
उनले आसन्न महाधिवेशनमा आफूले सहमहामन्त्रीमा पदमा उम्मेदवारी दिने विचार गरेको बताइन् । तर उनले यसबारे कसैसँग सल्लाह, लबिङ र छलफल नगरेको पनि स्पष्ट पारिन् ।
नेतृ संग्रौलाले पार्टीको नेतृत्व नीतिका आधारमा छनोट हुनुपर्ने पनि बताइन् । उनले थपिन्, “म पूर्वमा बसिरहेकी छु । भोलि जिल्ला अधिवेशन छ । एकपछि अर्को चुनावका कारण वैचारिक बहसका लागि फुर्सद छैन । त्यसकारण मैले ‘कांग्रेसको अबको बाटो’ शीर्षकको किताब पनि लेखेँ । मेरो भनाइ नीतिका आधारमा नेतृत्वको चयन गर्नुपर्छ र कांग्रेसको एजेन्डा सेट गर्नुपर्छ भनिरहेकी छु ।”
उनले आफू पार्टी सभापति शेरबहादुर देउवासँगै रहेको जनाउँदै जितहार महाधिवेशन प्रतिनिधिको विवेक र इच्छामा भर पर्ने बताइन् । उनले भनिन्, “मैले विगतमा देउवा समूहमै बसेर जितेकी हुँ । धेरै नेताहरु आकांक्षी हुनुहुन्छ । यो लोकतान्त्रिक अधिकार हो । त्यसैले कसलाई सभापति बनाउने भन्ने कुरा महाधिवेशन प्रतिनिधिको विवेक र इच्छामा भर पर्छ ।”