Logo

मणि थापाको सुझावः “प्रतिस्पर्धाभन्दा सहमतिमै जाऔं, बाइसी-चौबिसी सबै अटाउने नयाँ एमाले बनाऔं”



काठमाडौं, ९ मंसिर । नेकपा एमालेका नेता मणि थापाले आसन्न दसौं राष्ट्रिय महाधिवेशनमा प्रतिस्पर्धाभन्दा सहमतिमै गएर सबै विचार अटाउने नयाँ एमाले बनाउन सकिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “अहिलेको स्थितिमा प्रतिस्पर्धाभन्दा सहमतिबाट जाँदा पार्टीलाई फाइदा हुन्छ । पुरानो एमालेमा तलदेखि माथिसम्म गुट बनाएर संसदीय चुनावको मोडललाई नै पार्टीभित्रको चुनावको मोडल बनाइएको थियो । एमालेमा अहिले पूर्वमाओवादीहरु छौं, घनश्याम भुसाल, भीम रावल लगायत दस भाइ पनि आउनुभएको छ, राप्रपा लगायत बाइसी-चौबिसी प्रवेशको लहर छ । हामी विभिन्न हतकण्डा अपनाएर जसरी पनि जित्नुपर्ने अति भद्दा प्रतिस्पर्धामा जानुहुन्न भन्ने पक्षमा छौं । हामी पदका लागि तँछाडमछाड गर्दैनौं ।”
चितवन महाधिवेशनमा पूर्वमाओवादीको छुट्टै एजेन्डा नभएको पनि उनले स्पष्ट पारे । थापाले थपे, “अध्यक्ष कमरेड केपी ओली राष्ट्रवादी अडानका कारण लोकप्रिय छन् । त्यसैले उहाँको विकल्प सोच्दा आन्तरिक लोकतन्त्र र एकता कमजोर हुनेवाला छ । ओलीले समाजवादी मोडल अपनाउन खोज्नुभएको छ । प्यानल नबनाउने भने पनि भित्रभित्रै प्यानल बन्दैछन् । नेताहरुले ओलीको भावना कति बुझ्छन्, थाहा छैन ।”
आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बनाउने ढंगबाट महाधिवेशन सम्पन्न हुनुपर्ने उनले औंल्याए । नेता थापाले भने, “अध्यक्ष ओलीले एमालेलाई पहिलो पार्टी बनाएर झ्यालबाट होइन, मूलढोकाबाट सिंहदरबार छिर्ने चाहना राख्नुभएको छ । त्यस आधारमा सबैलाई समेटेर विश्वासयोग्य टिम बनाउन चाहनुभएको छ । त्यसो हुन सकेको खण्डमा एमाले बलियो हुन्छ र समाजवादको लक्ष्य पूरा हुन्छ ।”
तपाईंहरुले स्थायी समिति बैठकमै पूर्वमाओवादीहरु दसौं महाधिवेशनमा नजाने स्थिति बन्न सक्छ भनेर चेतावनी दिनुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा नेता थापाले भने, “पार्टीभित्रको आन्तरिक छलफलमा तीतोपिरो हुन पनि सक्छ । प्रतिनिधिको छनोटका क्रममा केही ठाउँमा हाम्रा साथीहरु छुटे भन्ने कुरा थियो । अहिले हाम्रा ५ प्रतिशत साथीहरु मनोनयनमा पर्नुभएको छ । परिणाम हामीले सोचेजस्तै आएको छ । अब पूर्वमाओवादीका साथीहरुको त्यति धेरै गुनासो छैन ।”



प्रतिक्रिया दिनुहोस्