Logo

मैले अरुजस्तो पहिलो या अन्तिम पटक सभापतिमा उम्मेदवारी दिन लागेको होइनः विमलेन्द्र निधि



काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आसन्न महाधिवेशनमा आफू पहिलो पटक या अन्तिम पटक सभापतिको उम्मेदवार बन्न नलागेको बताएका छन् । आफ्नो उम्मेदवारी संविधानको सफल कार्यान्वयन र आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई स्पष्ट बहुमत दिलाएर एकमना सरकार बनाउनका लागि भएको निधिको दाबी छ ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता निधिले भने, “हामीले संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौं । राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता, अहिंसा र शान्ति गरी नौ वटा सूत्रका आधारमा आफ्नो संविधान आफैं बनायौं । तर विगत चार वर्षमा कम्युनिस्टहरुका कारण यसको सफल कार्यान्वयन हुन सकेन । राज्यका अंगहरुलाई क्षतविक्षत बनाए । कांग्रेसको सरकार भएको भए संविधान र प्रणालीको यस्तो दुर्दशा हुने थिएन ।”
उनले थपे, “त्यसकारण म नेपाली कांग्रेसको सभापति भएर देश, जनता र पार्टीको सेवा गर्न चाहन्छु । आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन चाहन्छु । कांग्रेसको एकमना सरकार बनाउन चाहन्छु । म सभापतिको हैसियतमा विविधताको पहिचान, प्रतिनिधित्व र स्वामित्व लिन चाहन्छु । युवा पस्तालाई अघि बढाउन चाहन्छु ।”
उपसभापति निधिले आफू अरु उम्मेदवारले जस्तो पहिलो पटक या अन्तिम पटक सभापतिको उम्मेदवारी दिन नलागेको ञप स्पष्ट पारे । उनले भने, “म एक पटक वा अन्तिम पटकका लागि सभापति बन्न लागेको होइन । मसँग स्पष्ट नीति, कार्यक्रम र एजेन्डा छन् । कांग्रेसमा हजुरबुबादेखि नाति पुस्तासम्मको जाम छ । कांग्रेसमा लागेर जो कोही ‘ब्याक बेन्चर’ र ‘फलोअर’ मात्र हुने होइन, नेतृत्वमा पुग्न सक्नुपर्छ । कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र हस्तान्तरण जरुरी छ ।”
आफ्नो उम्मेवारी कसैका विरुद्ध लक्षित नभएको पनि उनले बताए । निधिले भने, “मेरो उम्मेदवारी कसैका विरुद्ध होइन । बीपी, गणेशमान, सुवर्णशमशेर, किसुनजी, गिरिजाबाबु, सुशील कोइरालाले जे जति गर्नुभयो, त्यसलाई म सम्मान गर्न चाहन्छु । राजनीतिमा गतिशीलताको सिद्धान्तका आधारमा म अघि बढेको हुँ ।”
आफूले शेरबहादुर देउवालाई धोका नदिएको पनि उनले बताए । उनले थपे, “म शेरबहादुर देउवालाई धोका दिएर उम्मेदवार बन्न लागेको होेइन । उहाँले गरेका योगदानप्रति पनि मेरो उत्तिकै सम्मान छ । मैले तेह्रौं महाधिवेशनमै सभापतिमा उम्मेदवारी दिने स्पष्ट भनेको हुँ । उहाँले अहिले मलाई सहयोग गर्नुस्, पन्ध्रौं महाधिवेशनमा तपाईंलाई सहयोग गर्छु भन्नुभएको छ । तर म ब्याक हुन तयार छैन । शेरबहादुरजी दुई पटक सभापति हुनुभयो, पाँच पटक प्रधानमन्त्री हुनुभयो । अब के हुन बाँकी छ र ?
देउवा र रामचन्द्र पौडेललाई नउठ्न आग्रह गरेको र अरु सभापतिका आकांक्षीहरुबीच समझदारी चाहेको पनि निधिले बताए । उनले भने, “म हिजो प्रकाशमान सिंहजीको घरमा गएको थिएँ । उहाँले मलाई सहयोग गर्नुस् भन्नुभयो, मैले मलाई सहयोग गर्नुस् भनें । कांग्रेसमा सबैभन्दा पहिले मैले टिम बनाउन खोजेको हुँ । शेखर, शंशाक कोइरालालाई पनि बरोबर भनिरहेको छु । डेमोक्रेसी भनेकै पावर सेयर हो । हामीबीच नीति, कार्यक्रम र दृष्टिकोणमा समझदारी बन्न सक्यो भने राम्रो हो ।”
तपाईंको महामन्त्रीको उम्मेदवार को हो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “मेरो टिमको महामन्त्री को हो भन्ने सबैलाई थाहा छ । तर म अहिले नै भन्न चाहन्नँ । युवा साथीहरु मेरो महामन्त्री हुनुहुन्छ भन्ने ठानेको छु । मैले विश्वप्रकाश शर्मा, गगन थापा, एनपी सावद, मीनेन्द्र रिजाल आदि सम्भावित साथीहरुलाई आफ्नो टिममा समेटिन अनुरोध गरेको छु । तर अहिलेसम्म उपसभापति र महामन्त्रीमा कसैको टुंगो लगाएको छैन । कोही पनि साथी खुल्नुभएको छैन । सबै साथीहरुको राजनीतिक करिअरको प्रश्न छ ।”

नेपाली कांग्रेसको संगठन बाहिर चर्चा भएजस्तो लथालिंग र भताभुंग नभएको पनि उनले दाबी गरे । उनले भने, “नेपाली कांग्रेसलाई थप क्रियाशील बनाउनुपर्ने जरुरी छ । साढे नौ लाख क्रियाशील सदस्य रहेको, जनस्तरसम्म भिजेको र यतिको संगठित पार्टी नेपालमा कुनै छैन ।”



प्रतिक्रिया दिनुहोस्