Logo

एमालेले भ्रष्ट र भाटको झुन्ड जम्मा गरेको हो, ओलीको हविगत राजा ज्ञानेन्द्रको जस्तै हुनेछः समाजवादी महासचिव



काठमाडौं, १० मंसिर । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले सत्तामा बस्दा थुपारेको कालो धन गाडी, घोडामा खर्चेर एमालेले चितवनमा पाँच लाख उतार्न लागेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. भुसालले भने, “सत्तामा बस्दा थुपोरेको कालो धन गाडी, घोडामा खर्चेर पाँच लाख मानिस उतार्ने भनिएको छ । पाँच करोड जनता भएको ठाउँमा पाँच लाख जम्मा हुनु कुन अनौठो भयो र ? राजा ज्ञानेन्द्रको सभामा कति मान्छे थिए, याद छ ? मान्छे जम्मा गरेर पनि ज्ञानेन्द्रको हालत के भयो ? ओलीको हविगत पनि त्यही हुने हो ।”
एमाले अध्यक्ष केपी ओलीले तपाईंहरुलाई अवैध घोषणा गरेर महाधिवेशनमा पनि बोलाउनुभएन नि भन्ने पत्रकार धमलाको प्रश्न डा. भुसालले भने, “एक जना सनकीले सनकको भरमा के भन्छ, त्यसले के अर्थ राख्छ ? नेपालको ऐन, कानुन र संविधानले हामीलाई अवैध भनेको छैन । एमाले महाधिवेशन केवल एक जना व्यक्तिलाई अध्यक्ष बनाउन छाप लगाउन जम्मा भएको भीड हो । त्यहाँ ओलीको प्रशस्ति गाउने मात्र काम हुन्छ । शुभ काम गर्नेलाई पो शुभकामना दिने ?”
एमालेले जबज छाडिसकेको उनले आरोप लगाए । उनले थपे, “जबज भनेको विचारको विविधता हो । के त्यहाँ फरक मत राख्न दिइएको छ ? जबज अनुसारको विधि, पद्धति, आचरण छ ? भ्रष्ट र भाटको झुन्ड जम्मा गरेर के हुन्छ ?”
एकीकृत समाजवादीले देशव्यापी संगठन विस्तार गरिरहेको बताउँदै उनले आगामी निर्वाचनमा एमालेको हैसियत देखिने बताए । उनले भने, “एमाले त कुनै जमानामा पहिलो पार्टी थियो । कहिले कोही ठूलो दल हुन्छ, कहिले कोही ठूलो दल हुन्छ । हामीले हार्छौं या जित्छौं, त्यो कुनै ठूलो कुरा होइन । हामी एकचोटि हारे अर्को चोटि जितौंला । कुन पार्टीले कस्तो विचार व्यक्त गर्छ भन्ने नै महत्त्वपूर्ण हो ।”
न्यायालयको मामला सरकारले हस्तक्षेप गर्नुपर्छ भन्ने कुरा नै गलत भएको उनको धारणा छ । उनले थपे, “यो शक्ति पृथक्कीकरणको सिद्धान्त विपरीत छ । लोकताान्त्रिक शासन व्यवस्थामा कार्यपालिकाले न्यायपालिकालाई हस्तक्षेप गर्न मिल्दैन । न्यायपालिका आफैंमा स्वतन्त्र छ ।”



प्रतिक्रिया दिनुहोस्