
काठमाडौं, ११ मंसिर । नेकपा एमालेका नेता शेरबहादुर तामाङले सर्वसम्मति नभए हात उठाएर भए पनि निर्णय गर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “हरेक नेतामा जिम्मेवारी पाउने आकांक्षा हुन सक्छ । तर महाधिवेशनको मनोविज्ञान भावनात्मक एकता र सर्वसम्मति गरेर जानुपर्छ भन्ने छ । के लुकाउनु सक्छ र ? चुनाव हुने स्थितिमा हामी अध्यक्षमा पनि हातै उठाएर एकछिनमै निर्णय गर्न सक्छौं । संसद्मा ‘हुन्छ’ र ‘हुन्न’ ध्वनि मतका आधारमा निर्णय हुन्छ भने महाधिवेशनमा किन नहुने ?”
एमालेको रिंगबाहिर पर्ने बित्तिकै कुनै पनि नेता एक्लो हुने उनले बताए । उनले भने, “कुनै व्यक्तिबारे म बहस गर्दिनँ । ब्याक हुने वा नहुने भीम रावलको विषय हो । तर कोही पनि व्यक्ति एमालेको रिंगबाहिर पर्ने बित्तिकै एक्लो हुन्छ । हामी त सर्वसम्मतितर्फ अघि बढ्दा यो वा त्यो पद होइन, सबै पद त्यागिदिन्छौं । काम गर्नलाई टाउकोमा टोपी लगाउनु पर्दैन ।”
उनले थपे, “पार्टी जहिले पनि तलका कार्यकर्ताका कारण फुट्दैन, विग्रह माथिको नेतृत्वका कारण हुन्छ । निर्वाचन गरेर के हार्नु छ र के जित्नु छ ? हामी अरु पार्टीका लागि पनि उदाहरण हुन सक्नुपर्छ । सिंगो पार्टीपंक्ति खुसी हुने गरी निर्णय गर्न सक्छौं ।”