Logo

कांग्रेसका युवा नेताहरूलाई कल्याण गुरुङको चुनौतीः “युवा आफ्नो पदमा खोज्ने, अरुको पदमा किन नखोज्ने ?”



काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङले पार्टीभित्र न्याय, परिवर्तन र राजनीतिक सुरक्षाका लागि सभापति पदमा उम्मेदवारी दिन लागेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “कांग्रेसमा न्याय र परिवर्तनको आवाज उठाउन, सुदृढ, लोकप्रिय र भरोसायोग्य पार्टी बनाउन अनि तीनै तहको निर्वाचनमा पार्टीलाई जिताउन म चौधौं महाधिवेशनमा सभापति पदको उम्मेदवार बनेको हुँ । मलाई देशभरिका महाधिवेशन प्रतिनिधि र युवा साथीहरुको समर्थन छ ।”
पार्टी नेतृत्व युवा पुस्तामा पुर्‍याउन आफ्नो विकल्प नभएको दाबी उनले गरे । उनले भने, “विकल्प खोज्ने परिपाटी नै लोकतन्त्र हो । लोकतान्त्रिक पद्धतिमा मात्र विकल्पहरुको सम्भावना हुन्छ । विकल्पको सम्भावनाअन्तर्गत मैले आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ ।”
भागबन्डा र गुटबन्दीका कारण पार्टी लथालिंग भएको टिप्पणी उनले गरे । उनले थपे, “पार्टीको अवस्था देखेर दिक्क भएका देशभरि अधिकांश युवा साथीहरुले मलाई मत दिनुहुन्छ । आफ्नो पदमा युवा चाहिन्छ भन्ने साथीहरुले अरुको पदमा पनि युवा खोज्नुपर्‍यो । मलाई भोट नमागेसम्म उहाँहरुले पनि युवाहरुको भोट पाउनुहुन्न । अब रहर या करले सभापतिमा मलाई भोट माग्नुहुन्छ ।”
कांग्रेसको वडादेखि केन्द्रसम्म नेतृत्वका लागि लडन्त भिडन्त भए पनि लडिरहेका नीतिगत बहस हुन नसकेको उनले बताए । उनले भने, “मेरो लडाइँ नै पार्टी व्यक्तिप्रधान होइन, नीतिप्रधान होस् र विधान अनुसार चलोस् भन्नेमा हो । पार्टी अब भागबन्डा र गुटबन्दीका आधारमा चल्नुहुँदैन भन्नेमा हो ।”

 



प्रतिक्रिया दिनुहोस्