Logo

कमल थापाले हारे पनि राप्रपा फुट्दैनः डा. लोहनी



काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीभित्र सर्वसम्मतिको प्रयास असफल भएपछि आफूले राजेन्द्र लिङ्देनलाई पार्टी नेतृत्वका लागि समर्थन गरेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. लोहनीले भने, “मैले चार महिनाअघि नै भनिसकेको थिएँ- हामी तीन जना अध्यक्ष छौं । पशुपतिशमशेरजी २० वर्ष अध्यक्ष हुनुभयो, कमल थापाजीले पनि १२-१५ वर्ष चलाउनुभयो । अब कि सहमतिमा मलाई नेतृत्व दिनोस्, त्यसो हुन सक्दैन भने दोस्रो पुस्तालाई जिम्मा दिऔं । हामी बोर्ड अफ गभर्नर भएर नीति निर्माण तहमा बसौं । तर मेरो प्रस्ताव कमल थापाले नमानेपछि मैले माननीय राजेन्द्र लिङ्देनलाई समर्थन गरेको हुँ ।”
कमल थापाले हार्नुभयो भने के होला भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “राजनीतिमा एक घण्टापछिको त ग्यारेन्टी छैन भने पछिको कुराको ग्यारेन्टी गर्न सकिँदैन । विगतको घटनाक्रम र अनुभवका आधारमा हेर्दा हामी तीनै जनामध्ये कसैबाट पनि पार्टी फुटाउने काम हुन सक्दैन । पार्टी अध्यक्ष हुनु मात्र सबैथोक होइन । भाजपाको अध्यक्षको नाम तपाईंलाई थाहा छ ? पार्टी अध्यक्ष नहुनेबित्तिकै पार्टीबाट बाहिर हुने भन्ने होइन । जसले जिते पनि हारे पनि राप्रपा अब फुट्दैन । प्रजातान्त्रिक पद्धतिमा हारजित स्वीकार गर्नुपर्छ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टी कुन एजेन्डामा अघि बढ्दै छ भन्ने प्रश्नमा उनले थपे, “हेर्नोस् ऋषिजी, नेपालमा अरु पार्टीको त एजेन्डा नै छैन । पार्टीलाई धनी बनाउने र सत्ताको दुरुपयोग गर्ने बाहेक केही सोच छैन । नेपालीलाई जोड्ने शक्तिका रुपमा संविधानभित्रको राजतन्त्र स्थापना, नेपालको ५ हजार पुरानो सभ्यता र पहिचान हिन्दु धर्मसापेक्ष मुलुक घोषणा, विगत २०-३० वर्षमा नेताहरुले कमाएका सम्पत्तिमाथि छानबिन गर्न नागरिक आयोग गठन र युवाहरुलाई नेपालभित्रै रोजगारी दिने प्रबन्ध नै राप्रपाको एजेन्डा हुन् ।”

 



प्रतिक्रिया दिनुहोस्