Logo

“कुनै गुट बलियो छ भन्ने हो भने त पहिले नै सभापति घोषणा गरिदिए भैहाल्यो नि !”



काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको संस्थापन समूहबाट गण्डकी प्रदेशका सभापतिका उम्मेदवार अर्जुनप्रसाद जोशीले महामन्त्री शशांक कोइरालाको पनि आफूलाई सद्भाव रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता जोशीले भने, “मलाई महामन्त्री शशांक कोइरालाको पनि सद्भाव छ । उहाँ भद्र मानिस हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पनि सद्भाव छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त मलाई गण्डकी प्रदेशका मतदाता मित्रहरुको समर्थन छ ।”
आफू प्रदेशकै साथीहरुको आग्रहमा आफूले सभापतिमा उम्मेदवारी दिएको जोशीले बताए । उनले थपे, “पृथ्वीनारायण कलेज पढ्दादेखि नै पश्चिमाञ्चलका साथीहरुसँगको मेरो निकट सम्पर्क छ । म केन्द्रीय समितिको सदस्य भइसकेको मानिस हुँ । अब गुटरहित र अनुशासित पार्टी बनाउनका लागि साथीहरुको आग्रहमा म प्रदेशमा लड्न आएको हुँ ।”
गण्डकीमा त रामचन्द्र पौडेल समूह बलियो छ होइन र भन्ने प्रश्नमा उनले भने, “बलियो त नेता होइन, मतदाता हो । रामचन्द्र दाइप्रति मेरो सम्मान छ । शुक्रराज शर्मा मेरा मित्र नै हुनुहुन्छ । तर। कोही नेता बलियो छ भने पहिले नै घोषणा गरिदिए भैहाल्यो नि ! मतदातालाई किन दुःख दिने ?”
आफ्नो गुटभन्दा बाहिरकालाई नराम्रो भन्ने पक्षमा आफू नरहेको पनि उनले बताए । उनले भने, “चुनाव लड्दा प्यानल त बन्छन् । त्यही प्यानललाई सबैलाई स्वीकार्छन् भन्ने छैन । साथीहरुले जो आवश्यक देख्नुहुन्छ, उहाँहरु आउनुहुन्छ । अरुको प्यानलको राम्रै मान्छे भए पनि नराम्रो भन्नुपर्ने आवश्यकता छैन ।”
उनले गण्डकी प्रदेशमा कांग्रेस कमजोर थियो भन्ने कुरा इतिहास हुने बताए । उनले भने, “म कांग्रेसलाई बलियो बनाउन लागिपरेको छु । मेरो उम्मेदवारी गुटबन्दी अन्त्यका लागि हो ।”



प्रतिक्रिया दिनुहोस्