Logo

मैले कसैलाई हराउन उम्मेदवारी दिएको होइनः मोतीराज बम



काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको विमलेन्द्र निधि समूहबाट कर्णाली प्रदेशका सभापतिका उम्मेदवार मोतीराज बमले आफू कसैलाई हराउनका लागि उम्मेदवार नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बमले भने, “म जित्नका लागि चुनावी मैदानमा उत्रिएको हुँ तर कसैलाई हराउनका लागि उठेको होइन । म विमलेन्द्र निधिको समर्थनमा उठेको हुँ । पार्टीलाई पुनर्जीवन दिनका लागि निधिको नेतृत्वको खाँचो छ । निधिले नेतृत्व गर्छ, विधिले कांग्रेस चल्छ । उहाँ पार्र्टीको उपसभापति हो । भूपेन्द्रजंग शाही र ललितजंग शाहीको पनि नेता हो । उहाँ सेकेन्ड बेन्चको नेता भएकाले म कमजोर छैन ।”
कर्णाली प्रदेशको अधिवेशनमा मुख्यमन्त्री जीवनबहादुर शाही र महामन्त्री पूर्णबहादुर खड्काको प्रभाव नपर्ने उनले बताए । उनले थपे, “उहाँहरु कसैले पार्टीको प्रतिष्ठामा आँच आउन दिनुहुन्न । मैले कार्यकर्ताको मन जित्ने कोसिस मैले गरेको छु । काठमाडौंमा कर्णालीलाई हेप्नुहुन्न भनेर २०४९ मा दिउँसै लालटिन जुलुस निकालेको मानिस हुँ । यहाँको शिक्षा, यातायात, स्वास्थ्यको मुद्दाका लागि म कांग्रेस सत्तामा हुँदा पनि प्रतिपक्ष भएर काम गर्न चाहन्छु ।”



प्रतिक्रिया दिनुहोस्