Logo

संस्थापन इतरका नेताहरूबीच राष्ट्रपति र प्रधानमन्त्रीको भागबन्डा भएको होइनः धनराज गुरुङ



काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता धनराज गुरुङले संस्थापन इतरका नेताहरु सभापतिमा साझा उम्मेदवार चयनको सहमतिको नजिक पुगिसकेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “सभापतिका आकांक्षी नेताहरुबीच हार्दिकता र मित्रताका साथ खुलेर कुराकानी भएकाले सहज वातावरण बनेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले मिलेर आउने सर्तमा पछि हट्ने, महामन्त्री शशांक कोइरालाले सहमतिका लागि बाधक नबन्ने भनिसकेपछि न्यारो डाउन भइरहेको छ । आज दिउँसो १-२ बजेसम्म टुंग्याउँछौं ।”
आज बिहान ९ बजे निर्वाचित र निवर्तमान जिल्ला सभापति, प्रदेश सभापतिका प्रत्यासी र विजयीहरुको परामर्श बैठक बोलाएको उनले जानकारी दिए । उनले भने, “बैठकमा सभापतिका आकांक्षी साथीहरुबिना छलफल हुन्छ । उहाँहरुले जसलाई उठाउने भन्नुहुन्छ, त्यही सभापतिको उम्मेदवार हुन्छ ।”
हिजोको बैठकमा सभापतिका दाबेदार नेता प्रकाशमान सिंह न्यायोचित निर्णयको अपेक्षा गरेको र डा. शेखर कोइरालाले वृहत् दायरामा परामर्श चाहेको उनले बताए । त्यसै अनुसार आज परामर्श बैठक डाकिएको उनको भनाइ छ । उनले थपे, “अहिलेको प्रधान विषय पार्टीको रुपान्तरण हो । देशको रुपान्तरण गर्ने हो भने पार्टीको रुपान्तरण जरुरी छ । आफैं नबदलिने नेताले पार्टी र देश बदल्न सक्दैन ।”
अहिले सभापतिका आकांक्षी नेताहरुबीच राष्ट्रपति र प्रधानमन्त्रीको भागबन्डा नभएको पनि उनले दाबी गरे । नेता गुरुङले भने, “नेताहरुबीच वन टु वन कुराकानीमा डा. शेखरले प्रकाशमानलाई, प्रकाशमानले डा. शेखरलाई त्यस्तो भन्नुभयो पनि होला तर सगोलमा कुरा भएको छैन । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई ठूलो, पहिलो र बहुमत प्राप्त बनाउने सक्यौं भने नेताहरुलाई न्यायोचित व्यवस्थापन गर्ने नै छौं । तर अहिले त्यतापट्टि सोच्ने बेला भएको छैन ।”
साझा उम्मेदवारमा सम्भावनाका ढोका खुला रहेको तर आजको दिन कटाउने हो भने उम्मेदवारी नै नदिए पनि हुने उनले बताए । आफू महामन्त्रीको प्रत्यासी रहेको उनको भनाइ छ । उनले भने, “मेरो जोडदार दाबी महामन्त्रीमै हो । तर मिसन भेदनका लागि अगाडि पछाडि सर्ने कुरा आइरहेको छ । नेताहरुलाई मैले के भनेको छु भने तपाईंहरु एक हुने सर्तमा केन्द्रीय सदस्य पनि नलड्न तयार छु ।”



प्रतिक्रिया दिनुहोस्