
काठमाडौं, ६ पुस । नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कुनै पनि बहानामा पार्टीभित्र आइसकेको महिला नेतृत्वलाई रोक्न नसकिने बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ डा. संग्रौलाले भनिन्, “अहिलेसम्म नेपालको राजनीतिमा महिला पार्टीको फस्ट म्यान हुन सकेका छैनन् । उपसभापति, कोषाध्यक्ष, सहमहामन्त्री आदि पदमा मात्र पुगेका छन् । अब त्यो भूमिका परिवर्तन हुन्छ । आइसकेको महिला नेतृत्वलाई रोक्न सकिँदैन ।”
नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महिलाको खुला केन्द्रीय सदस्यतर्फ सबैभन्दा धेरै २८८५ मत ल्याउन सफल हुँदा जिम्मेवारी थपिएको महसुस गरेको उनले बताइन् । डा. संग्रौलाले भनिन्, “मैले १३ औं महाधिवेशनमा पनि अत्यधिक मत ल्याएकी थिएँ । म मेची-महाकाली डुलेँ । सडकदेखि सदनसम्म आफ्ना विचार राखेँ । त्यसकारण मलाई पत्याइदिनुभयो । मेरो तर्फबाट सबैलाई धन्यवाद दिन चाहन्छु ।”
उनले थपिन्, “चौधौं महाधिवेशनमार्फत नेपाली कांग्रेसका सबै तहमा एक तिहाइ महिलाको प्रतिनिधित्व भएको छ । हाम्रो माग त पदाधिकारीमा नै महिलाको एक तिहाइ होस् भन्ने हो । केन्द्रीय समितिमा सबै खालको महिलाको प्रतिनिधित्व भएको छ । हुम्लाजस्तो दूरदराजबाट रंगमती शाही आउनु पनि उपलब्धि नै हो ।”
प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा पुरानै रटान लगाएर सहभागी नभएको एमाले सदन अवरोध हास्यास्पद भएको उनले बताइन् । उनले भनिन्, “प्रतिपक्षी दललाई सहमतिमा ल्याउने प्रयास जारी छ । तर उसले एउटै रटान छाडेको छैन । अघिल्लो पनि एक शब्द नबोलीकन सकियो । अहिले पनि त्यस्तै अवस्था छ । निरन्तर सदन अवरुद्ध गर्ने साथीहरु नै संसद्को सर्वोच्चता कायम गर भन्नुहुन्छ, यो भन्दा हास्यास्पद के हुन्छ ?”
प्रदेश २ को अधिवेशनमा स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व छानिने डा. संग्रौलाले बताइन् । उनले भनिन्, “हामी लोकतन्त्रको आन्तरिक अभ्यासमा छौं । आठ तहको संरचनामा निर्वाचनबाटै नेतृत्व छानिएको छ । कोही विजेता, कोही उपविजेता भए । यो स्वाभाविक हो । पहिले नै उम्मेदवार तय भइसकेकाले निर्विरोध हुन सकेन । अब जसले जित्छ, उसले नै नेतृत्व लिन्छ । यसमा अन्यथा लिनुपर्ने केही छैन ।”