
काठमाडौं, ३० पुस । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले तत्काल जनस्वास्थ्य कानुन लगाउनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै जनस्वास्थ्यविद् डा. मरासिनीले भने, “तथ्यांक आफै बोल्छ । दैनिक ३० जना कोरोना संक्रमितबाट ३५, ३६ सय पुगिसक्यो । अबको ७ दिनमा १०-१२ हजार पुग्न सक्छ । स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको सबैभन्दा ठूलो भूल स्टोरमा खोप राखियो, जनतालाई दिइएन । त्यो खोप सात दिनभित्र सक्नुपथ्र्यो । स्वास्थ्य मन्त्रालयमा कर्मचारी सरुवाबाहेक केही काम भएन । मन्त्री नै झूटा कुरा गरेर बसेका छन् ।”
खोपको काम केन्द्रीकरण हुँदा संक्रमण बढेको उनको विश्लेषण छ । उनले थपे, “खोपको काम केन्द्रीकरण भएको रहेछ । प्रदेश र स्थानीय त हाँसेर बसेका रहेछन् । खोपकेन्द्र वा सदरमुकाममा आउँदैनन् । गाउँगाउँमा खोप अभियान लैजानुपर्छ । महामारी सबभन्दा सस्तो र प्रभावकारी उपाय भनेकै खोप हो । अब नागरिकले नै खोप खोज्दै लगाउनुपर्यो ।”
जनस्वास्थ्यविद् डा. मरासिनीले दुवै डोज खोप र मास्क लगाउँदा कोरोना नियन्त्रणमा सहयोग पुग्ने पनि औंल्याए । उनले भने, “अबको सय दिन मास्क अनिवार्य गर्नुपर्छ । मास्क नलगाउनेलाई ठाउँको ठाउँ जरिवाना गर्नुपर्छ । यसलाई कडाई गर्न जनस्वास्थ्य कानुन लगाउनुपर्छ ।
देशभित्र आउने र जाने दुवैलाई निगरानीमा राख्नुपर्ने उनको भनाइ छ । उनले थपे, त्रिभुवन विमानस्थलको निगरानी ठीकै छ । ठूला सीमा नाकामा दुवै कारोना खोप र पीसीआर नेगेटिभ मान्छेलाई मात्र प्रवेश दिनुपर्छ । नभए १०, १५ दिन क्वारेन्टाइनमा राख्नुपर्छ ।”
नेपाल कोरोना महामाहारीको ठूलो प्रकोपको जोखिम रहेको उनले बताए । उनले भने, “ठूलो बाढी आएपछि रोक्न सकिँदैन । त्यसैले निगरानीको सिस्टम बनाउनुपर्छ । केही अस्पतालबाट नमुना संकलन गरेर दैनिक विश्लेषण गरेको भए कुन भाइरस चलायमान छ भन्ने थाहा हुन्थ्यो । स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग निदाएको जस्तो देखिन्छ । अहिले त ओमिक्रोन हो कि डेल्टा भेरियन्ट हो, केही पनि थाहा छैन । निगरानीको सिस्टम नराख्नु पनि भूल भयो । यस्तो काम २० दिन अगाडि नै गर्न सकिन्थ्यो ।”
ओमिक्रोनमा छातीको निमोनिया नहुने भएकाले मृत्युदर कम रहेको उनको भनाइ छ । उनले भने, “खासमा कोरोनामा फोक्सोको संक्रमण गराएर मृत्यु हुने हो । खोप लगाएकाको मृत्यु हुने सम्भावना कम हुन्छ । मृत्युदर कम भए पनि ओमिक्रोन संक्रमण चाँडो फैलिने देखिएको छ । ओमिक्रोन भनेर लापरबाही गर्दा भित्रभित्रै डेल्टा भेरियन्टले झुक्याउन सक्छ । हामी सचेत हुनैपर्छ ।”
जनस्वास्थ्यविद् डा. मरासिनीले ठूला पार्टीहरुका सम्मेलनले पनि संक्रमण बढाएको आरोप लगाए । उनले भने, “यस बीचमा ठूला पार्टीहरुका ठूलठूला सम्मेलन भए । गाउँगाउँबाट प्रतिनिधि आए । तर पीसीआर गराएनन् । सम्मेलनमा करोडौं खर्च गरे तर १०, १५ लाखको पीसीआर गराएनन् । यसले पनि जोखिम बढायो ।” उनले संक्रमण तीव्र गतिमा फैलँदा लकडाउन आवश्यक हुन सक्ने पनि औंल्याए ।