
काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका नेता एवं योजनाविद् डा. गोविन्दराज पोखरेलले चुनावसम्म गठबन्धनलाई बोकेर लानुपर्ने बाध्यता रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. पोखरेलले भने, “हामीलाई के थाहा छ भने कम्युनिस्टसँगको गठबन्धनले जनतालाई सेवा दिन सकिँदैन । अहिले सरकारको नेतृत्व नेपाली कांग्रेसले गरे पनि अर्थ, ऊर्जा, सहरी विकास, भौतिक पूर्वाधार मन्त्रालय अरु पार्टीले चलाएका छन् । तिनले गरेका नचाहिँदा कामको सम्पूर्ण अपयश हामीले खेप्नु परिरहेको छ । संसद्मा नेपाली कांग्रेस गणितीय रुपमा कमजोरी छ । गठबन्धन नगरीकन नहुने अवस्था छ । कांग्रेसले सपार्न नसके पनि बिगार्न दिँदैन ।”
आगामी निर्वाचनसम्म यो गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनले बताए । डा. पोखरेलले भने, “अहिले राष्ट्रिय सभामा एक्लै उठ्छु भनेर कांग्रेसले एक सिट पनि जित्न सक्दैन । तर आगामी स्थानीय तह र प्रदेश तह निर्वाचनमा सम्बन्धित क्षेत्रलाई नै जिम्मा दिनुपर्छ ।”
संविधानलाई लिकमा ल्याएर राजनीतिक स्थिरताका निम्ति मात्र नेपाली कांग्रेसलेस रकारको नेतृत्व गरेको उनको दाबी छ । उनले थपे, “केपी ओलीले साढे ३ वर्षसम्म हुकुमी शैलीमा शासन चलाए । सबै क्षेत्रको मनोबल गिराए । त्यसैले नेपाली कांग्रेसले संविधानलाई लिकमा ल्याएर राजनीतिक स्थिरताका निम्ति सरकारको नेतृत्व गरेको हो । हामी कोरा राजनीतिमात्र होइन, सन्ततिको भविष्य उज्ज्वल बनेको हेर्न चाहन्छौं ।”
उनले २०४८ सालमा कांग्रेसको सरकारले पञ्चायती शासनले खोक्रो पारेको अर्थतन्त्रमा फजुल खर्च घटाउने अलोकप्रिय कदम चालेको औंल्याउँदै अहिले पनि त्यस्तो दुस्साहसिक निर्णय आवश्यक हुने औंल्याए । डा. पोखरेलले भने, “अब पहिलेको लयको पक्डनका लागि लगानी बढाउन, रोजगारी सिर्जना गर्न र आयात प्रतिस्थापन गर्न लाग्नुपर्छ । निजी क्षेत्रको मनोबल बढाउनुपर्छ । श्रमिक, राजनीतिक हस्तक्षेप र चन्दा असुली अन्त्य गर्नुपर्छ ।”