
काठमाडौं, ३० पुस । नेकपा एमालेकी सचिव पद्मा अर्यालले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार इतिहासकै सबभन्दा नालायक, निकम्मा र असफल भएको आरोप लगाएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ अर्यालले भनिन्, “इतिहासमा हामीले यति साह्रै असफल, नालायक र निकम्मा सरकार भोगेनौं होला । ६ महिनाबीचमा जनतालाई देखाउने एउटै काम भेटिँदैन । यस्तो सरकार रहिरहने हो भने देश र जनताको अवस्था के होला ? ६ महिनासम्म एमाले र केपी ओलीको विरोध गरिरहनु नै सरकारको काम हो र ?”
उनले देउवा सरकारले खोप ल्याएको भनेर फूर्ति छाँटिरहेको आरोप पनि लगाइन् । उनले थपिन्, “खोप कुनै नयाँ चिज होइन । कानुनी व्यवस्थापन मिलाउँदै हामीले खोप प्रक्रिया सुरु गरिसकेका थियौं । यो त्यही कामको निरन्तरता हो । यसमा फूर्ति छाँट्नुको अर्थ छैन ।
केपी ओली सरकारको बेला जस्तो भ्रष्टाचार त भएको छैन नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भनिन्, जुन चिजलाई भ्रष्टाचार भनेर हल्लाखल्ला गरिएको छ, त्यसो भए कानुनी कठघरामा उभ्याउनुपर्यो नि । यो हल्ला, अफवाह, मजाक र बदनाम गर्ने विषय हो । एमाले तथ्यमा टेकेर मात्र बोल्छ ।”
एमालेले संसद् अवरोध नगरेको उनको जिकिर छ । एमाले सचिव अर्यालले भनिन्, “हामीले संसद्मा विरोध गरेका हौं, अवरोध गरेका होइनौं । सरकारको कुनै पनि काम हामीले रोकेका छैनौं । संसद् चलिरहेकै छ । तर अवैधानिक सांसद राखेर कसरी संसद् चल्छ ? संसद् कानुनसम्मत ढंगले नचलाउन्जेल हाम्रो विरोध जारी रहन्छ । हामी कुनै पनि अन्याय सहँदैनौं ।”
एमाले सचिव बनेपछि तपाईं त हराउनुभयो नि भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा भनिन्, “म पार्टीको जिम्मेवारी लिएर गण्डकी प्रदेशमा छु । जिल्ला अधिवेशनको काममा व्यस्त भएँ । हिमाली जिल्ला मनाङ र मुस्ताङबाहेक नौ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ ।”