Logo

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही भन्छन्, “भारत र चीनले नेपालको सीमा मिचेको भन्न सक्छन् र ?”



काठमाडौं, ३ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही भारत र चीनसँगको सीमा विवादमा कूटनीतिक समाधान खोज्नुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री शाहीले भने, “हामी दुइटा विशाल देशको बीचमा छौं । सीमा विवाद हुने भनेकै छिमेकी देशसित हो । तर, हामीले सीमामा फौज लगेर राख्न सक्दैनौं, हामीले गर्ने भनेको कूटनीतिक पहल नै हो ।”
उनले थपे, “हामीले बुझ्नुपर्ने कुरा के हो भने न भारतले सीमा विवाद छ भन्छ, न त चीनले नै सीमा विवाद छ भन्छ । हामी भारतसँग त कुरा गर्न सकौंला, चीनसँग सक्दैनौं । हाम्रो भाषा नै मिल्दैन । चीनले त सीमा विवाद छैन भन्यो नै, हाम्रै देशका मान्छेले पनि चीनको जस्तै भाषामा बोले । यसले दुबिधा भयो ।”
सीमा विवादका सम्बन्धमा तपाईंको प्रतिवेदन त रद्दीको टोकरीमा गयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा मुख्यमन्त्री शाहीले भने, “मेरो प्रतिवेदन रद्दीको टोकरीमा गएको साँचो होइन । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका हुम्ला, मुगु र डोल्पादेखि दोलखा, संखुवासभा, ताप्लेजुङसम्म सीमा समस्या छन् । अहिले उत्तरी सीमामा वैशाख जेठसम्म न म जान सक्छु, न त अरु नै जान सक्छन् । यसबारे सरकार अनभिज्ञ छ भन्न सकिँदैन । अहिले रोकिएजस्तो लागे पनि कूटनीतिक माध्यमबाट गृह, परराष्ट्र र एम्बेसीमार्फत कुराकानी भइरहेको छ ।”

कर्णाली प्रदेशमा ६३ प्रतिशतलाई खोप
अर्को प्रश्नमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश पनि कोरोना संक्रमणबाट अछुतो नरहेको स्वीकारे । उनले भने, “कर्णालीमा २१० जनाको पीसीआर टेस्ट गर्दा ६६ जना कोरोना पोजेटिभ देखियो । यसले ३१.४ वृद्धि देखाएको छ । १३७२ मा एन्टिजेन परीक्षण गर्दा १७९ जनामा संक्रमण देखियो । यो भनेको १३.४ प्रतिशत हो । अहिले २६८ जना होम आइसोलेसनमा छन् भने दुई जना अस्पतालको आईसीयूमा छन् ।”
नागरिकले खोप पाएनन् भन्दा पनि खोप लगाउन नआएर समस्या भएको उनले बताए । उनले थपे, “खोप पाइएन भन्ने नितान्त गलत समाचार हो । खोप पाएनन् भन्ने होइन, खोप लगाउन नआएर समस्या भएको हो । अर्को समस्या एक डोज फाइजर लगाएपछि फाइजर नै लगाउनुपर्यो । मोर्डना लगाएपछि मोर्डना नै चाहियो । कोभिसिल्ड लगाएकालाई कोभिसिल्ड नै चाहियो । कर्णाली प्रदेशले ६३ प्रतिशतलाई खोप लगाइसकेको छ । मान्छे जान नसक्ने ठाउँबाहेक सबैतिर खोप लगाइरहेका छौं ।”
दक्षिण खुला सीमा जोडिएका प्रदेशले कडिकडाउ नगर्दा कोरोना संक्रमण फैलिएको पनि उनले बताए । उनले थपे, “कर्णाली उत्तरदक्षिण नजोडिएको प्रदेश हो । तर भारतमा धेरै काम गर्न जानेमा कर्णाली प्रदेशका पनि पर्छन । भारतको सीमा जोडिएका सुदूरपश्चिम र लुम्बिनीमा चेक गरिदिने हो भने हामीकहाँ त्यति समस्या आउँदैनथ्यो ।”
प्रदेश सरकारले बबई, कपुरकोट, छिन्चुलगायतका ठाउँमा होल्डिङ सेन्टर राखेर एन्टिजेन टेस्ट गरिरहेको मुख्यमन्त्री शाहीले बताए । उनले भने, “अहिले हामी फ्रन्टलाइनर र ६० वर्षमाथिका नागरिकलाई बुस्टर डोज लगाइरहेका छौं । जनशक्ति कम भएकाले करारमा स्वास्थ्यकर्मी भर्नाका लागि सूचना निकालेका छौं । पहिलो र दोस्रो जस्तो अक्सिजनको हाहाकार छैन । सल्यानबाहेक अरुमा अक्सिजन प्लान्ट छ । ऋषिजी, तपाईंले अघिल्लोचोटि हामीलाई निकै सहयोग गर्नुभएको थियो । त्यो हामीले बिर्सेका छैनौं ।”



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम