Logo

एमालेको डरले सत्ता गठबन्धन स्थानीय निर्वाचन टार्न खोजिरहेको छः युवराज ज्ञवाली



काठमाडौं, ११ माघ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीसँग जित्न नसक्ने भएकाले सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनमा जान डराइरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “एमाले सबै खाले निर्वाचनका लागि तम्तयार छ । तर एमालेलाई जित्न सकिँदैन भन्ने मनोविज्ञानका कारण सत्ता गठबन्धन स्थानीय निर्वाचन गर्न डराइरहेको छ । नेपाली कांग्रेस पनि एमालेविरुद्ध एक्लै लड्न चाहिरहेको छैन । कुनै पनि दलले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न सक्दैनन् । पाँचै दल मिले पनि एमालेलाई जित्न सक्दैनन् ।”
विगतमा एमाले र माओवादी केन्द्र मिलेर आएको चुनावी परिणामका आधारमा हुने भोलि राष्ट्रिय सभाको निर्वाचनमा कमजोर भए पनि अबको निर्वाचनमा कमजोर नहुने उपाध्यक्ष ज्ञवालीको जिकिर छ । उनले थपे, “दलगत स्वार्थका कारण कुनै पनि चुनाव तलमाथि गर्न पाइँदैन । स्थानीय तहको निर्वाचन समयमा सम्पन्न गर्नुको विकल्प छैन । संविधानमा जे व्यवस्था छ, त्यही गर्नुपर्छ । कुन चुनाव अघि या कुन चुनाव पछि भन्ने प्रश्नै छैन । स्थानीय तहको निर्वाचन वैशाखको सेरोफेरोमा गर्नुपर्छ ।”
तीन तहको चुनाव एकैचोटि गर्नु बिलकुलै अव्यावहारिक हुने नेता ज्ञवालीको तर्क छ । उनले भने, “संसारमा यस्तो अभ्यास बिरलै होला । यहाँ अमूक दलको स्वार्थका आधारमा नाना थरी कुरा गरिँदैछ । तीन तहको चुनाव एकैचोटि गर्दा जनतालाई मतपत्र छुट्याउन कठिन हुन्छ । त्यसैले स्थानीय तहको निर्वाचन एकचोटि, प्रदेश र संघको चुनाव अर्कोचोटि गर्दा हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्