Logo

गठबन्धनका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ट्रयापमा पार्न खोजेका छन्ः डा. शेखर कोइराला (भिडिओसहित)



काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन सार्ने प्रपञ्चले लोकतन्त्र नै धरापमा पर्न सक्ने खतरा औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग लामो कुराकानी गर्दै नेता डा. कोइरालाले भने, “संविधानको धारा र ऐनको दफामा त्रुटि देखाएर ५ जना नेताहरु निर्वाचन सार्ने कुरा गर्दै हुनुहुन्छ । वैशाखमा चुनाव गर्दा गठबन्धन संकटमा पर्छ भनेर लोकतन्त्रलाई संकट पार्न मिल्छ ? हामीले गठबन्धन जोगाउने कि लोकतन्त्र जोगाउने ? स्थानीय तहको निर्वाचन सारियो भने लोकतन्त्रको हत्या हुन सक्छ, मुलुकमा संकट आउन सक्छ, नेपाली कांग्रेस दुर्घटनामा पर्न सक्छ । लोकतन्त्र समाप्त गर्ने खेल नहोस् ।”

कांग्रेसकै केही नेताहरु र गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ट्रयापमा पार्न खोजेको आरोप पनि उनले लगाए । डा. कोइरालाले थपे, “कांग्रेसकै केही नेताहरु र गठबन्धनका नेताहरुले शेरबहादुरजीलाई ट्रयापमा पार्न खोज्दै हुनुहुन्छ । जालोमा फसेपछि गाह्रो हुन्छ नि। २०५९ सालमा उहाँ प्रधानमन्त्री रहेका बेला स्थानीय निर्वाचन गर्न नसक्दा राजा ज्ञानेन्द्रबाट कू मात्र भएन, १८ वर्षसम्म जनप्रतिनिधित्व नै हुन सकेन । सबैभन्दा पीडा त शेरबहादुरजीलाई होला । त्यति बुझ्नुभयो भने उहाँले वैशाखमै चुनाव गर्नुहुन्छ ।”

स्थानीय तहको निर्वाचनबाट राजनीतिक दलहरु नै डराउनु हास्यास्पद भएको उनको धारणा छ । उनले भने, “लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन हो । दलहरु नै निर्वाचनबाट डराउनु लोकतन्त्रको दुर्भाग्य हो । कसले जित्छ वा कसले हार्छ भन्दा पनि लोकतन्त्रले जित्छ कि जित्दैन ? त्यो प्रमुख कुरा हो ।”

डा. कोइरालाले संविधानमा भएको त्रुटिका निम्ति जनतासँग क्षमा पनि मागे । उनले भने, “संविधान लेख्ने पनि हामी नै हो, कानुन बनाउने पनि हामी नै हो । संविधानको मस्यौदा गर्दा गल्ती भएको छ, त्यसका लागि म देशबासीसँग क्षमा माग्छु । तर, त्यसलाई पक्डेर हामी कहाँ पुग्छौं ? समस्या संविधानमा छैन, ठूला नेताहरुको सोचमा छ ।”

सत्ता गठबन्धनका नेताहरुले संविधानविद्सँग सरसल्लाह नगरेकामा डा. कोइरालाले आश्चर्य प्रकट गरे । उनले भने, “सत्ता गठबन्धनका ५ जना बसेर आआफ्ना महान्यायाधिवक्ता र पूर्वमहान्यायाधिवक्तासँग सुझाव लिएको खबर पढेको छु । तिनले के सुझाव दिन्छन् ? ५ जना नेताहरुले जे चाहन्छन्, त्यही सुझाव दिन्छन् ।
संविधानले कर्मचारीले स्थानीय सरकार चलाउने परिकल्पना नै नगरेको कांग्रेस नेता डा. कोइरालाले औंल्याए । उनले भने, “वैशाखमा निर्वाचन गर्न किन डराएको ? संविधानको बहाना किन बनाउने ? देशवासीलाई जवाफ चाहिन्छ । वास्तवमा भन्ने हो भने कम्युनिस्ट नेताहरु स्थानीय निर्वाचन नै चाहनुहुन्न । किनभने उहाँहरुको पार्टी नै बनेको छैन । कम्युनिस्ट स्कुलिङमा इलेक्सन हुँदैन, सिलेक्सन मात्र हुन्छ । स्थानीय चुनावभन्दा अगाडि संसदीय चुनाव होस् भन्ने हाम्रो चाहना हुन सक्छ । तर लोकतन्त्रलाई बचाउने हो वैशाखमा स्थानीय तहको निर्वाचन अनिवार्य छ ।”

गठबन्धनसँग छलफल गर्ने प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल गर्न आवश्यक नठानेकामा पनि उनले आपत्ति जनाए । डा. कोइरालाले भने, “प्रधानमन्त्रीले छलफल त पार्टीभित्र र बाहिर जोसँग पनि गर्न सक्नुहुन्छ । तर पार्टीभित्र कुनै छलफल भएको छैन । सभापतिले केन्द्रीय कार्यसमितिको बैठक पनि बोलाउनुभएको छैन । बैठक भएको भए हामीले आफ्ना धारणा राख्थ्यौं । देश, जनता र लोकतन्त्रका निम्ति यो गम्भीर इस्यू हो ।”

प्रधानमन्त्री देउवाले गठबन्धन मिलाउनुभन्दा पार्टीभित्रै एकता कायम गर्नु श्रेयष्कर हुने उनको सुझाव छ । उनले थपे, “सभापतिजीले गठबन्धन मिलाउनुभन्दा हाम्रै साथीहरुसँग बस्नुभयो भने राम्रो हुन्छ । गठबन्धनसित छलफल गर्ने, हामीसँग नगर्ने ? आफ्नै महान्यायाधिवक्तासँग छलफल गर्ने, कानुनविद्सँग नगर्ने ? मैले उहाँको विरोध गरेको होइन, सचेत गराएको हो । कांग्रेसलाई बलियो बनाउने हो भने वैशाखमा निर्वाचन गर्नु जरुरी छ । कमजोर बनाउने हो भने त जे गरे पनि भयो ।” उनले वैशाखमा निर्वाचन भयो भने अधिकांश स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने दाबी पनि गरे ।

नेता डा. कोइरालाले गठबन्धन सरकार चुनावसम्म जाने भए पनि नेपाली कांग्रेस कुनै पनि निर्वाचनमा गठबन्धन गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, “गठबन्धन गर्ने हो भने चुनावपछि गर्ने हो । किनभने मिश्रित निर्वाचन प्रणालीका कारण कुनै दलको एकमना सरकार बन्ने स्थिति छैन । सयमा ८० सिट आउँछ भन्नु पनि भ्रम हो । आम कार्यकर्ताको भावनाविपरीत पार्टी चल्न सक्दैन ।”

विगतमा गिरिजाप्रसाद कोइरालासँग प्रचण्डलाई मिलाउन तपाईं आफैं अघि सर्नुभयो, अहिले शेरबहादुर र प्रचण्ड मिल्दा तपाईंलाई किन आपत्ति भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “त्यो तत्कालीन आवश्यकता हो । एमालेलाई हराउन त कांग्रेस अझ संगठित हुनुपर्यो । कुनै पनि निर्वाचनमा हामीले कसैसित कहिल्यै साँठगाँठ गरेनौं । अब पनि गठबन्धन गर्नुपर्दैन । त्यसो गर्नु भनेको विचारको हाराकिरी गर्नु हो ।”

सभापति बनेपछि शेरबहादुर देउवासँग तपाईंको कुराकानी भएको छ भन्ने अर्को प्रश्नमा डा. कोइरालाले भने, “मैले उहाँलाई बधाई दिएको छु । त्यत्ति हो । मसित भलाकुसारी किन गर्ने ? उहाँ देशको प्रधानमन्त्री हुनुहुन्छ, फुर्सद पाउनुभएको छैन होला ।”



प्रतिक्रिया दिनुहोस्