Logo

सय दिनको तयारीमै स्थानीय तहको निर्वाचन गर्न सक्छौंः निर्वाचन आयोगका प्रवक्ता



काठमाडौं, १२ माघ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले सय दिनको तयारीमा पनि स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै आयोगका प्रवक्ता पौडेलले भने, “निर्वाचन आयोगले संविधान र प्रचलित नियम कानुन बमोजिम स्थानीय तहको निर्वाचन गर्ने समय भयो भनेर सरकारलाई परामर्श दिएको हो । तर मिति घोषणा गर्ने काम त नेपाल सरकारले हो ।”
सरकारले निर्वाचन आयोगले दिएको परामर्श अनुसार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेन भने के हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा प्रवक्ता पौडेलले भने, एउटा कुरा स्पष्ट छ, “सरकारले तिथि घोषणा गरेन भने निर्वाचन हुँदैन । त्यसमा आयोगले केही गर्न सक्ने हैसियत छैन । आयोगले आफ्नो जिम्मेवारी पूरा गर्ने मात्र हो । यसको अर्थ सरकारले आयोगलाई नटेरेको भन्ने रुपमा लिएका पनि छैनौं ।”
सरकारले मिति घोषणा गरेमा १२० दिनको निर्वाचन अवधिलाई सय दिनमा कम्प्रोमाइज गर्न सकिने पनि उनले स्पष्ट पारे । पौडेलले भने, “हामीलाई माघको पहिलो हप्तासम्म मिति घोषणा होला भन्ने थियो । त्यो हुन सकेन । आज वा भोलि आयोग र सरकारबीच भेटघाट भयो भने वैशाख मसान्तसम्म पहिलो चरणको निर्वाचन गर्न भ्याइन्छ । सामान्यतः १२० दिनको निर्वाचन अवधि चाहिन्छ । तर हामी सय दिनमा कम्प्रोमाइज गर्न सक्छौं ।”
आज हुने राष्ट्रिय सभा निर्वाचनको परिणाम राति अबेरसम्म आउने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्