Logo

पाँचखुट्टे सरकारलाई हिँड्न गाह्रो परिराख्या छः लक्ष्मणलाल कर्ण



काठमाडौं, १२ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पार्टी नेकपा एमालेसँग सती नगएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “लोसपा कसैको सती गएको होइन । दुइटा पार्टी मिलेर लडेका हौं । लोकतन्त्रमा राजनीतिक पार्टीले कमजोर छु, लड्दिन भन्नुहँदैन । चुनावमा भाग लिन्न भन्नुहुँदैन, आफ्नो विचार लिएर जनतामा निरन्तर जानुपर्छ ।”
राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्दैमा सबै निर्वाचनमा एमालेसँग मिल्नुपर्छ भन्ने बाध्यता नभएको पनि कर्णले स्पष्ट पारे । उनले भने, “एक चोटि गठबन्धन गर्दा सधैं गर्नुपर्ने बाध्यता छ र ? आगामी निर्वाचनका सम्बन्धमा त्यस विषयमा कुनै कुराकानी भएको छैन । स्थानीय चुनाव वा अरु चुनाव नघोषणा नभईकन गठबन्धन गर्नु आवश्यक पनि छैन ।”
स्थानीय तहको निर्वाचनको मिति तोक्ने कुरामा गठबन्धन सरकारले खुट्टा कमाइरहेको आरोप पनि उनले लगाए । नेता कर्णले थपे, “लोकतन्त्रको मूल आधार निर्वाचन नै हो । निर्वाचनको विकल्प छैन । त्यसलाई नमान्ने हो भने लोकतन्त्र समाप्त हुन्छ । चार खुट्टासम्म त हिँडेको देख्न सकिन्छ । तर पाँच खुट्टा भयो भने हिँड्न कति गाह्रो हुँदो रहेछ ? गठबन्धन सरकारको हालत त्यही छ ।” सरकारलाई लोसपाले बाहिरबाट दिएको समर्थन फिर्ता लिने पनि उनले बताए ।
भौतिक योजना मन्त्री रेणु यादवका विषयमा लोसपा किन मौन छ भन्ने पत्रकार धमलाको प्रश्नमा कर्णले भने, “रेणु यादव महिला र मधेसी मन्त्री हो । उहाँले एउटा मन्त्रालय पाउँदैमा सबै जना खनिनुपर्छ र ? मूर्धन्य मानवअधिकारवादी, नागरिक समाजका अगुवाले रेणु यादवको राजीनामा गरिराख्या छन् । राजीनामाको माग बिलकुल फजुल कुरा हो । मधेसी र महिला मन्त्री भएकाले उहाँले पटक पटक जवाफ दिनुपरेको छ, स्पष्टीकरण दिनुपरेको छ । सीके राउतको हत्या प्रयास भएको हो र !”

 



प्रतिक्रिया दिनुहोस्