Logo

नेतृत्वले सांसदको हस्ताक्षर जुनसुकै प्रयोजनमा प्रयोग गर्न सक्छः शेरबहादुर तामाङ



काठमाडौं, ३ फागुन । नेकपा एमालेका नेता एवं सांसद शेरबहादुर तामाङले पार्टीको संसदीय दलको बैठकमा ककसलाई महाभियोग लगाउने भन्नेबारे नाम किटेर निर्णय नगरेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “हामीले महाभियोगबारे निर्णय लिने जिम्मेवारी नेतृत्वलाई दिएका छौं । संसदीय दलले मागेपछि हामीले हस्ताक्षर बुझाएका छौं । त्यसलाई नेतृत्वले जुनसुकै प्रयोजनमा प्रयोग गर्न सक्छ । कसकसलाई महाभियोग लगाउने भन्ने नाम किटिएको छैन ।”
एमालेले आवेश र उत्तेजनामा नआईकन निर्णय लिने पनि उनले औंल्याए । तामाङले थपे, “अरुले जे गर्यो, हामीले त्यही गर्ने कुरा छैन । गठबन्धन निर्वाचन धकेल्नेतर्फ, परिस्थिति बिगार्ने तर्फ गइरहेको छ । हामी आवेश र उत्तेजनामा नआईकन हतारपतार नगरीकन काम गर्छौं । हामी कुनै पात्र देखाएर तर्साउने खेलमा लाग्दैनौं । तर हामी न्यायालयको फोहोर हटाउँछौं । न्याय महँगो छ, किनबेचमा छ । न्यायालयलाई स्वच्छ बनाउँछौं ।”
एमसीसी पास वा फेल के गर्ने भन्ने रणनीति संसद्मा प्रस्तुत भएपछि मात्र बनाउने पनि उनले बताए । उनले भने, “अहिले हामी एमसीसीको बहसमा छैनौं । संसद्मा प्रस्ताव हामीले राख्ने होइन, सरकारले नै राख्ने हो । त्यसपछि सबै कुरा थाहा हुन्छ । तर गठबन्धन सरकार संसद् खुलाउन नलागेर अर्को धमिलो खेलमा लागेको छ ।”



प्रतिक्रिया दिनुहोस्