Logo

कोभिडले हरेक ३० घन्टामा नयाँ अर्बपति जन्मायो



एजेन्सी, डाभोस, ९ जेठ : कोभिड–१९ महामारीले हरेक ३० घण्टामा एक जना नयाँ अर्बपति सिर्जना गरेको र २०२२ मा १० लाख मानिसहरू उही गतिमा चरम गरिबीमा फस्ने एउटा अध्ययन प्रतिवेदनले जनाएको छ ।

अक्सफामको हालसालैको प्रतिवेदन ‘प्रोफिटिङ फ्रम पेन’मा कोभिड–१९ महामारीले हरेक ३० मिनेटमा नयाँ अर्बपति सृजना गरेको र सन् २०२२ मा यही गतिमा १० लाख मानिस चरम गरिबीमा धकेलिने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार खाद्य र उर्जा क्षेत्रका अर्बपतिहरूले प्रत्येक दुई दिनमा १ अर्ब डलरले आफ्नो रकम बढाइरहेका छन्, किनकी महत्वपूर्ण वस्तुहरूको मूल्य दशकौँको तुलनामा द्रुत गतिमा बढेको छ ।

कोभिड १९ पछि पहिलो पटक व्यक्तिगत रूपमा डाभोसमा विश्व आर्थिक मञ्चको सम्मेलन भइरहेका बेला प्रतिवेदन सार्वजनिक भएको छ । सम्मेलनमा अन्तर्राष्ट्रिय परोपकारी संस्थाले कम भाग्यमानीहरूलाई मद्दत गर्न धनीहरूलाई कर लगाउने समय भएको तर्क गरेको छ ।

कोभिड र बढ्दो मूल्य बृद्धिका कारण २६ करोड ३० लाख मानिसहरू यसै वर्ष चरम गरिबीमा धकेलिने अक्सफामले अनुमान गरेको छ । यस हिसाबले हरेक ३३ घन्टामा १० लाख मानिस गरिबीमा धकेलिनेछन् ।



प्रतिक्रिया दिनुहोस्