Logo

संसद्मा भीम रावलको गर्जन : फोहोर संकटकाल अवस्था सिर्जना हुँदा सरकार मौन देखियो (भिडिओसहित)



काठमाडौं, २६ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद डा. भीमबहादुर रावलले काठमाडौंमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् । आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका हुन् ।

उनले काठमाडौंमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको आरोप पनि लगाए । उनले भने,‘महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो । ठूलाठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्रीज्यू, फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ ।

सांसद रावलले त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि ताला लाग्दा पनि सरकार मुकदर्शक भएर बसेको भन्दै यस्तो तरिकाले कसरी नेपालको शिक्षा पद्धती अघि बढ्छ ? भनेर प्रश्न गरे । उनले भने,‘म गृहमन्त्रीज्यूलाई ध्यानाकार्षण गराउन चाहन्छु, १३९ दिन विश्वविद्यालय बन्द हुँद सरकार मुकदर्शक भएर बस्न मिल्छ ? उहाँहरु रमिता हेर्नुहुन्छ, फेरि उहाँहरु विश्वविद्यालयलाई उत्कृष्ट बनाउँछौं भन्नुहुन्छ, यो भन्दा ठूलो व्यंग्य हुन्छ ?’ उनले भारतसँगको सिमा विवादको समाधानको लागि सरकारले के पहल गरेको छ? भनेर पनि प्रश्न गरे ।

त्यस्तै, उनले विद्यालयको पाठ्यक्रममा ई बाट ईशाई भनेर लेखिएकोमा पनि आपत्ति जनाए । उनले पाठ्यक्रममा ई भनेको इशा लेखेको र ईशाले हाम्रो कल्याण गर्नुहुन्छ भनेर लेखेको पाईएको पनि स्मरण गराए । उनले भने,‘हाम्रो देश भनेको धर्मनिरपेक्ष होईन, मैले त बाल्यकालमा ई भनेको ईश्वर भनेर पढेको थिएँ, लु कसैलाई ईश्वर मान्न भएन, ई माने ईमान किन लेख्नुभएन ? यो कुरा शिक्षामन्त्रीलाई थाहा छ कि छैन् ?



प्रतिक्रिया दिनुहोस्