Logo

जगद्गुरु आदर्श संस्कृत गुरुकुलका प्राचार्यलाई कारबाही गर्न अनेरास्ववियुको माग



काठमाडौं, २६ जेठ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जातीय भेदभाव गरी विद्यार्थी भर्ना नलिने ललितपुरको शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुलका प्राचार्यलाई कारबाही गर्न माग गरेको छ ।

गुरुकुलले बर्दियाबाट आई भर्ना हुन कपाल मण्डनसमेत गरिसकेको अवस्थामा जातीय भेदभाव गरी भर्ना नलिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै अनेरास्ववियुले गुरुकुलका प्राचार्यलाई कारबाही गर्न माग गरेको हो ।

हिजो २५ जेठमा ललितपुरको शंखमुलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण आश्रमको पूर्व स्वीकृति अनुसार ब्रतबन्ध गरी कपालसमेत मुण्डन गरेर भर्ना हुन पुगेका बर्दिया जिल्ला, बारबर्दिया नगरपालिका–६ का १० वर्षे समीर सुनार, १२ वर्षे विराज सुनार, ५ वर्षे भुवेश्वर सुनार र १० वर्षे भीमबहादुर सुनारलाई पढाईबाट बञ्चित गरेको प्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको छ,’ अध्यक्ष सुनीता बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गुरुकुलका प्राचार्यलाई कारबाहीको माग गर्दै बरालले विज्ञप्तिमा उल्लेख गरेकी छन्, ‘५० जनाको सिट क्षमता भएको गुरुकुलमा ३३ जना मात्रै विद्यार्थी भर्ना हुँदा पनि सीट संख्या पूरा भएको झुठो दाबी गर्ने प्राचार्यलाई कारबाहिको दायरामा ल्याउन प्रशासन समक्ष जोडदार माग गर्दछौं ।’

विज्ञप्तिको पूर्णपाठ :

मिति : २०७५ जेठ २६

अनेरास्ववियु सदैव अन्याय, अत्याचार, शोषण उत्पीडनको विरुद्ध न्याय र समानताको पक्षमा वकालत गर्दै आएको सर्वविदितै छ । नेपालको संविधानले आम नागरिकलाई समाजमा स्वतन्त्रतापूर्वक सम्मानजनक ढंगले बाँच्न पाउने अधिकारको प्रत्याभूती गरेको छ । समाजमा हुने सबै खालका विकृति, बिसङ्गती र कु–संस्कारहरुलाई अन्त्य गरि समानतामूलक समाजको निर्माण गर्नुपर्दछ भन्ने अनेरास्ववियुको स्पष्ट दृष्टिकोण छ ।

हिजो २०७५ जेठ २५ गते ललितपुरको शंखमुलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण आश्रमको पूर्व स्वीकृति अनुसार ब्रतबन्ध गरी कपालसमेत मुण्डन गरेर भर्ना हुन पुगेका बर्दिया जिल्ला, बारबर्दिया नगरपालिका–६ का १० वर्षे समीर सुनार, १२ वर्षे विराज सुनार, ५ वर्षे भुवेश्वर सुनार र १० वर्षे भीमबहादुर सुनारलाई पढाईबाट बञ्चित गरेको प्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको छ ।

५० जनाको सिट क्षमता भएको गुरुकुलमा ३३ जना मात्रै विद्यार्थी भर्ना हुँदा पनि सीट संख्या पूरा भएको झुठो दाबी गर्ने प्राचार्यलाई कारबाहिको दायरामा ल्याउन प्रशासन समक्ष जोडदार माग गर्दछौं । धर्म, संस्कृति, संस्कार र संस्कृत विद्या पढाउने आश्रमले जातीय भेदभावकै आधारमा बालकहरूलाई भर्ना नलिएको घटनाले हाम्रो समाजमा अहिले पनि सामन्तवादको अवशेषले जरो गाडिरहेको आभास हुन्छ ।

आश्रममा यो जातले पढ्न पाउने, अर्को जातले नपाउने भन्ने कुराले संविधानको खिल्ली उडाएको छ । नेपाली समाजमा रहेको जातीय विभेद र विभेद जन्य घटनाले सिंगो राष्ट्रको शिर निहुरिएको छ । यस्ता सबै प्रकारका विभेदको अन्त्यको लागि समाजमा क्रियाशील सम्पुर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न समुह तथा पक्षहरुलाई रचनात्मक भुमिकाको लागि अनेरास्ववियु आव्हान गर्दछ ।
हार्दिक अभिवादन सहित !

सुनिता बराल
अध्यक्ष



प्रतिक्रिया दिनुहोस्