Logo

गृहमन्त्रीलाई सांसद घनश्याम खतिवडाको प्रश्न– कहिलेसम्म सत्तारुढ दलको ज्यादती खप्ने हो



काठमाडौं, २७ जेठ : प्रतिनिधि सभामा नेकपा (एमाले) का सांसद घनश्याम खतिवडाले मोरङको रतुमाई नगरपालिका–९ को जनता माविका प्रधानाध्यापकमाथि भएको कुटपिटको घटनप्रति आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उत्तारुढ दलका नेता तथा कार्यकर्ताबाट विद्यालयका प्राधानाध्यपक कुटिनु दुःखद भएको बताए ।

‘जेठ २४ गते मोरङ जिल्लाको रतुमाई नगरपालिका वडा नं.९ जनता माविका प्रअ इश्वर खनाललाई त्यही वडाका निर्वाचित वडाध्यक्ष नेपाली कांग्रेसका इन्द्र बहादुर लिम्बुले नेपाली कांग्रेसको पार्टी कार्यालयमा झुक्याएर बोलाई सन्तोष घिमिरे लगायतका मान्छेबाट निर्ममतापूर्वक कुटपिट गरिएको छ,’ सांसद खतिवडाले भने ।

एउटा विद्यालयमा पढाउने प्रधानाध्यापकलाई नेपाली कांग्रेसको पार्टी कार्यालयमा बोलाएर निर्घात कुटपिट गर्नुले सत्ताको दुरुपयोग भएको अनुभूति भइरहेको उनले जनाए । खतिवडाले प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न गरे, ‘माथि विश्वविद्यालयदेखि ताला लगाउँदै अब विद्यालयका प्रअसम्म कुट्ने गरी कार्यक्रम झरेको हो ?’
कांग्रेसका नेता तथा कार्यकताबाट कुटिएका प्रधानाध्यापक अहिले अस्पतालमा उपचार गराइरहेको उनले जनाए । कांग्रेसका नेता तथा कार्यकर्ताले प्रधानाध्यापकको परिवारलाई मिलापत्रको नाममा दबाब दिइरहेको पनि उनले संसदलाई जानकारी दिए ।

‘यो राज्य आतंक मुलुकले कहिलेसम्म खेप्नु पर्ने हो सभामुख महोदय ? यो गठबन्धन सरकारले नेपाली जनतालाई दिएको शान्ति सुरक्षाको प्रत्याभूति यही हो ?,’ सांसद खतिवडाले प्रश्न गरे, अछाममा मान्छे मारिएको छ लाश उठ्दैन । दार्चुलमा मान्छे जिउँदै जलाइन्छ, सरकारले न्याय दिँदैन । बर्दियामा जनतामाथि गोली चलाउँछ । कहिलेसम्म सत्तारुढ दलको ज्यादती खप्ने हो ?’ नेपाली जनताले विद्रोह गर्नुपर्ने अवस्था आयो भने जिम्मेवारी सरकारले लिनुपर्ने उनले जनाए ।



प्रतिक्रिया दिनुहोस्