Logo

डोल्पाको विकासबारे सांसद बुढा सधैं सक्रिय, स्थानीय तहको निर्वाचमा भोट हाल्नै पाएनन्



काठमाडौं, ३० जेठ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद धनबहादुर बुढा जनतामाँझ पपुलर छन् । उनी संसद्मा समेत जनताको आवाज मुखरित गर्ने सांसदको रुपमा परिचित छन् । एमालेबाट विद्रोह गरेर माधव नेपालले नयाँ पार्टी खोल्दा बुढालगायत सांसदहरुको नै ठूलो भरथेग थियो ।

उनको प्रभाव कतिसम्म देखियो भने उनको जिल्ला डोल्पामा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले राम्रो प्रभाव देखायो । गाउँपालिका अध्यक्ष तथा वडाअध्यक्ष सहितका पदाधिकारी निर्विरोध निर्वाचित भएपछि सांसद बुढाले मतदान नै गर्न पाएनन् । यो विषय निर्वाचन सकिएपछि पनि चर्चा गर्नलायक छ । खासगरी सांसद् बुढाको काम गर्ने शैलीबाट पनि जनता उनीसँग प्रभावित छन् ।

डोल्पाको काइके गाउँपालिका अध्यक्षमा आफ्नो पार्टीका अंङ्गद कुमार राना निर्विरोध निर्वाचित भएपछि बुढाको चर्चा चुलिएको थियो । बुढा काईके गाउँपालिका वडा नम्बर २ का मतदाता हुन् । पर्यटन राज्यमन्त्री भैसकेका बुढाको वडामा पनि निर्विरोध निर्वाचित भएका थिए । उक्त वडामा ओमकार रोकाया निर्विरोध निर्वाचित भएका थिए । बुढाको गृहजिल्ला डोल्पामा छार्का ताङ्सोङ गाउँपालिकामा सेनाङ गुरुङ अध्यक्ष निर्वाचित भएका थिए । एकीकृत समाजवादीका चर्चित नेताहरुको वडामासमेत निर्वाचन नजितेको अवस्थामा बुढाले भने आफ्नो वडामा मतदान नै गर्न नपाई पार्टीका व्यक्ति निर्विरोध निर्वाचित भए ।

सांसद बुढा एमालेमा रहँदा होस वा अहिले एकीकृत समाजवादीमा सक्रिय हुँदा होस–पार्टी नेतृत्वले जहिल्यैपनि रुचाएको व्यक्तिमा पर्छन् । उनले आफूलाई सच्चा जनप्रतिनिधिको रुपमा उभ्याएका छन् । खासगरी पर्यटन क्षेत्र र अन्तर्राष्ट्रिय सम्बन्धमा दख्खल राख्ने बुढा सबैसँग समन्वय गरेर काम गर्ने स्वभावका छन् । जनताको सुख र दुःखमा सधैं अग्रपँक्तिमा देखिँदै आएका बुढा आउने संसद्को निर्वाचनमा पनि निर्वाचित हुने चर्चा छ । यसअघि (नेकपाकालिन) समयमा उनी वामदेव गौतमलाई सांसद् बनाउनको लागि त्याग गर्नसमेत तयार भएका व्यक्ति हुन् ।

वामदेव चुनाव हारेपछि उनलाई संसद्मा लैजानको लागि राजीनामा दिएर भएपनि त्याग गर्ने सोच बनाएका बुढा आफ्नो जिल्लामा अत्यन्तै लोकप्रिय मानिन्छन् । काठमाडौंका सभा तथा गोष्ठी होस वा पार्टीका विभिन्न कार्यक्रममा उनी डोल्पाको विकास, सम्भावना र चूनौतिबारे बहस गर्न पछि हट्दैनन् । उनी जहिल्यैपनि डोल्पालाई नै केन्द्रविन्दुमा राखेर आफूलाई सक्रिय तुल्याउँछन् ।

पार्टी नेतृत्वप्रति इमानदार बुढा नेपालको विकासको लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिन्छन् । डोल्पाबारे उनको सधैं एउटै भनाई रहने गरेको छ–डोल्पा भौगोलिक रुपले विकट भए पनि प्राकृतिक सुन्दरता, साँस्कृतिक सम्पदा र जैविक विविधताले धनी छ । डोल्पाको समग्र विकासको लागि उनी अहिलेपनि सक्रिय छन् ।



प्रतिक्रिया दिनुहोस्