Logo

एसपीपीबारे कसको पालामा के–के भएको थियो, यो सरकारले सत्य–तथ्य बाहिर ल्याउनुपर्छ : रमेश लेखक (भिडिओसहित)



‘प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको क्रममा एसपीपीबारे सम्झौता गरिँदैछ भन्ने चर्चा छ, यो असत्य र भ्रमपूर्ण कुरा हो’

‘असार १० गतेबाट विभाग गठनको काम सुरू हुन्छ’

काठमाडौं, २ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको क्रममा एसपीपीबारे सम्झौता गरिँदैछ भनेर गरिएको चर्चा असत्य रहेको स्पष्ट पारेका छन् । उनले भने–‘यो भ्रमणपूर्ण कुरा हो । नेपाली कांग्रेस अन्य मुलुकसँग सम्बन्ध कायम गर्दा, असंलग्न परराष्ट्र नीति, हाम्रो भूमि कोहीविरुद्ध प्रयोग हुँदैन् । हामी यो कुरा बाहिर गएर कुनै सम्झौता गर्दैनौं । अहिले सरकारले र प्रधानमन्त्रीले हाम्रो वैदेशिक सम्बन्धका आधारभूत मान्यता र संविधानका व्यवस्थाभन्दा बाहिर गएर कुनै सम्झौता हुँदैन् । यो भ्रमपूर्ण कुरा हो ।’

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले एसपीपीबारे कसको सरकारको पालामा के के भएको हो ? त्यो सबै कुरा वर्तमान सरकारले बाहिर ल्याउनुपर्ने बताए । उनले भने,‘हिजोमात्रै अमेरिकी दूतावासले सन् २०१५ र २०१७ मा नेपालले आग्रह गरेको र सन् २०१९ मा स्विकृत भएको भन्ने कुरा बाहिर ल्याएको छ । नेपाली सेनाले यसमा संलग्न नभएको कुरा स्पष्ट पारेको छ । एसपीपी २०१९ मा यो स्विकार भएको हो भने, त्यो बोलामा पनि सरकार थियो होला, कसको पालामा के भएको हो ? भन्ने कुरा अहिलेको सरकारले छानबिन गर्नुपर्छ । २०१९ मा स्विकार भएको हो भने के–के पत्राचार भएको थियो ? यो कुरा सार्वजनिक गर्नुपर्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिलेको सरकारले एसपीपीबारे सबै कुरा बाहिर ल्याउनुपर्नेमा जोड दिए । उनले भने–‘सन् २०१९ मा तत्कालिन सरकारका मन्त्री अमेरिका जानुभएको थियो । उहाँ अमेरिकाबाट फर्किएपछि अनावश्यक र विवादस्पद कुरा आएका थिए । त्यतिवोल नेकपाको सरकार थियो । नेकपाभित्र पनि यो कुरा उठेको थियो । बास्तवमा त्यो बेलाको सरकारले प्रष्ट पारेको थिएन । बडो विरोधाभाष कुरा आएकोले अब प्रष्ट पार्नुपर्छ ।’
उनले आफ्नो पार्टी जहिलेपनि परराष्ट्र नीतिलाई निर्धारण गर्दा पार्टीभित्र गम्भीर छलफल गरेर निश्कर्षमा पुग्ने र अन्य दलहरुबीच पनि छलफल गरेर सहमतिमा पुग्ने पार्टी भएको उल्लेख गरे । उनले भने–‘हाम्रो पार्टी मुलुकभित्रका गम्भीर विषयमा सबै पक्षसँग छलफल गर्छ । अरु पार्टीजस्तो विदेशमा गएर खुसुक्क एउटा काम गरेर आउने अनि देशभित्र आएर अर्कै कुरा गर्ने कांग्रेस होइन । त्यसो भएको हुनाले कांग्रेसले यो सम्झौता गर्दैन् । यसबारेमा हामी पार्टीभित्र पनि छलफल गर्छौं । क–कसले के गरेका थिए ? भन्ने कुरा यो सरकारले सबै कुरा प्रष्ट पार्नुपर्छ । सरकारले सबै सत्य, तथ्य बुझेर सार्वजनिक गर्नुपर्छ ।’

उनले सबै देशसँग आफूहरुले मित्रवत र सन्तुलित सम्बन्ध कायम गर्दै आएको र यसलाई काम गरिने पनि स्पष्ट पारे । उनले भने–‘यो मान्तयालाइृ खण्डित गर्नेगरि र विलचन हुनेगरि, यसबाट बेमेल हुनेगरि सरकारले कुनै सम्झौता गर्दैन् । यो कुरा भ्रमपूर्ण कुरा हो । एसपीपीबारे विभिन्न वक्तव्य बाहिर आएका छन् । अहिले अन्यौलपूर्ण अवस्था छ । सरकारको दायित्व के हो भने सम्पूर्ण स्थितिको जानकारी लिएर सरकारले सार्वजनिक गर्नुपर्छ ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण गर्ने कुरा स्वभाविक भएको भन्दै यसबारेमा अनावश्यक टिप्पणी गर्न नहुने बताए । उनले भने,‘प्रधानमन्त्रीले अमेरिका भ्रमण गर्ने कुरा छ, यो पूरानो प्रचलन हो । यो त निरन्तरको विषय हो । यो विषयलाई विवादित बनाउनुपर्ने, कुनै न कुनै निहँु झिकेर अहिलेको सरकारलाई बद्नाम गर्ने कुरा छ, यो भ्रमपूर्ण कुरा छ । सबै विदेशी मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध कायम राख्छौं ।’

नेता लेखकले संसद्मा बजेट बनाउँदा अवाञ्छित गतिविधि भए भन्ने कुरा उठेको भएपनि प्रमुख प्रतिपक्षी दलले संसद् अवरोध गर्नु र अर्थमन्त्रीलाई संसद्मा जवाफ दिन अवरोध गर्नु गलत भएको टिप्पणी गरे । उनले भने,‘यो विषयमा पनि दलहरुबीच गम्भीर छलफल हुनुपर्छ । अर्थमन्त्रीको राजीनामा माग्ने र मन्त्रीलाई जवाफ दिन नदिने कुरा छ, यो जायज छैन् । एकपटक भरतमोहन अधिकारी पछिल्लो समय अर्थमन्त्री भएको बेलामा यो विषय उठेको थियो । बजेटका सम्पूर्ण तथ्य र तथ्यांक कान्तिपुरमा प्रकाशित भएको थियो । यो विषय उठेको थियो । अधिकारीले बजेट भाषण गर्नुभन्दा पहिले वेबसाइटमा प्रकाशित भएको थियो । मैले त्यो बेलामा प्रश्न उठाएको थिएँ । प्रकाशचन्द्र लोहनीले पनि आफ्नो धारणा राख्नुभएको थियो । त्यो बेला संसद् अवरुद्ध भएको थिएन । अर्थमन्त्रीले राजीनामा दिनुभएको होईन । अर्थमन्त्री विष्णु पौडेल हुँदा बजेट लिक भएको कुरा पनि उठेको थियो । त्यतिवेला पनि छानिबन समिति बनेको थियो । संसद् अवरुद्ध गर्ने र अर्थमन्त्रीलाई जवाफ नै दिन नदिने कुरा शोभनीय होईन । यो कुरा ठिक भएन । योभन्दा पहिलेपनि यस्ता प्रश्न उठेको थियो । इतिहास बिर्सिनुहुँदैन् । हिजोको घट्ना पनि सम्झना गर्नुपर्छ । दलहरु बसेर सहमति गरी एउटा टुँगोमा पुग्नुपर्छ ।’

त्यस्तै, पार्टीको महाधिवेशन भएको ६ महिना पुग्न लागेको भन्दै यही असार १० गतेबाट विभिन्न विभाग गठनको थालनी गरिने पनि उनले स्पष्ट पारे । उनले भने,‘महाधिवेशन भएको अब यही असार १० गते ६ महिना पुग्छ । यो बीचमा सरकारका महत्वपूर्ण काम गर्नुपर्ने स्थिति भयो । लगत्तै स्थानीय तहको निर्वाचन भयो । त्यसो भएको हुनाले पार्टीभित्र गर्नुपर्ने काम थाँती भयो । १० गतेभित्र त्यो काम प्रारम्भ गर्नुपर्छ । कांग्रेसको कार्यसमितिको बैठक बस्नुपर्छ । सभापति नै प्रधानमन्त्री हुनुहुन्छ । कार्यव्यस्तता पनि छ । अब बैठक बस्नुपर्छ । स्थानीय तहको निर्वाचनको समिक्षा गर्नुपर्छ । आगामी रणनीति तय गर्नुपर्छ । विभागहरु पनि गठन गर्नुपर्छ ।’

उनले पाँच दलीय गठबन्धनले निरन्तरता पाउने दाबी गरे । उनले भने,‘आगामी निर्वाचनमा सिटको तालमेलको मोडालिटी, आधार, यीलगायतका कुराको बारेमा केन्द्रीय कार्यसमितिको बैठकमा छलफलमा पुग्नुपर्छ ।’ उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले दम्भ देखाए देखाईदिने भनेर दिएको चेतावनीबारे टिप्पणी गर्दै आफूहरु कुनै दम्भ नदेखाएको जिकिर गरे ।

उनले भने,‘कांग्रेसले विल्कुल नै दम्भ देखाएको छैन् । कांग्रेसको आधारभूत चरित्र र विशेषता भनेको नै सबैसँग छलफल र सहमति गरेर निश्कर्षमा पुग्ने हो । अहिलेपनि हामी सहकार्य गरेका छौं । मुलुकको लागि अति संवेदनशील विषयमा प्रतिपक्षी दलसँगपनि सहकार्य गरेका छौं । प्रम देउवाको व्यक्तिगत रुपमा पनि सबैलाई मिलाउने स्वभाव हो । प्रचण्डको टिप्पणीलाई मैले के भन्छु भने कांग्रेसले विल्कुल दम्भ देखाएको छैन् । हामीले दम्भ देखाएको भए यो स्थानीय तहको निर्वाचनमा प्रचण्डको पार्टी तेस्रो पार्टी बन्दैन थियो । यो कुरा प्रचण्डले हेक्का राख्नुपर्छ । कमिकमजोरी भए छलफल गरेर निश्कर्षमा पुग्न सकिन्छ ।’

 



प्रतिक्रिया दिनुहोस्