Logo

‘मिडियामाजस्तै राजनीतिमा पनि सफल हुने विश्वास लिएको छु’ : रवि लामिछाने



काठमाडौं, १० असार । भर्खरै घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूहरुको मूल उद्देश्य देशको विद्यमान व्यवस्था परिवर्तन गर्नु नभएर जनताको अवस्था परिवर्तन गर्नु रहेको स्पष्ट पारेका छन् । पार्टी घोषणा र निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएपछिको पहिलो सार्वजनिक पत्रकार सम्मेलन आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा गर्दै लामिछानेले यस्तो बताएका हुन् । उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता सबै आफूहरुले मान्ने पनि स्पष्ट पारे ।

सुरुमा पार्टी प्रवक्ता डा. मुकुल ढकालले पार्टीको एजेण्डाबारे प्रकाश पार्ने भनिएपनि अधिकांश प्रश्न लामिछानेकेन्द्रित रहेकोले उनले नै धेरै समय खर्चिए । सो क्रममा लामिछानेले पार्टीको राजनीतिक एजेण्डादेखि आफूमाथि लागेका आरोप र दाजु हरिशरण लामिछानेसँगको पछिल्लो सम्बन्धबारे सोधिएका प्रश्नको जवाफमा धेरै समय खर्चिनुपर्यो ।

उनले अहिले आफूहरु व्यवस्थाभन्दापनि जनताको अवस्था परिवर्तनको लागि आएको भन्दै सोहीअनुसार योजना बनाएको स्पष्ट पारे । उनले भने–‘व्यवस्थाभित्र धेरै कुरा सुधारको आवश्यक छ । न्यायालयभित्र सुधारको झन धेरै आवश्यकत्ता छ । हाम्रो मुद्दा व्यवस्था होईन, अवस्था परिवर्तन हो । पासपोर्टको लागि लाईन बस्नु राम्रो होइन, अस्पतालमा त्यस्तै लाईन, यो पनि राम्रो होईन । हाम्रो मुद्दा भनेको अवस्था सुधार गर्नु हो । परिवर्तन गर्न धेरै बाँकी छ । संघीयता खर्चिलो छ । यसमा व्यापक सुधार चाहिन्छ । अहिले हाम्रो प्राथमिकता जनजीवनको अवस्थामा व्यापक सुधार गर्नु हो ।’

उनले आफ्ना दाजु हरिशरण लामिछानेसँग कुनै मनमुटाव नभएको स्पष्ट पारे । उनले दल घोषणा गर्नु पहिले र आफू राजीतिमा आउनुपुर्वको समयमा दाजु हरिशरण लामिछानेसँग धेरै नै छलफल तथा परामर्श गरेको स्मरण गराए । उनले आफूले दललाई स्थापित गरेर जाने निश्कर्षसहित पार्टीको घोषणा गरेको र निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएको पनि सुनाए । उनले भने–‘मैले त संविधानले दिएको अधिकार प्रयोग गरेर दल दर्ता गराएका हो ।’

उनले देशमा राजनीतिक दलहरु धेरै भएपनि उनीहरुजस्तै दलको संख्या थप्नको लागि मात्रै आफूहरु नआएको जिकिर गरे । उनले अहिले भएका दलहरुभन्दा धेरै राम्रो गरेर र पृथक काम गरेर देखाउनको लागि स्पष्ट भीजनसहित मैदानमा आएको बताए । उनले देश र जनताको हित हुनेगरि र प्रत्यक्ष अनुभुति हुनेगरि गुणातत्मक रुपमा राम्रो काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

उनले पार्टीको नाम स्वतन्त्र राख्नुको पछाडि हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रहरुको मुभमेन्ट देखिएकोले त्यसलाई पनि जोड्ने उद्देश्यले यो नाम राखेको स्पष्ट पारे । उनले भने–‘पार्टी घोषणा गर्नुअघि स्वतन्त्रका साथीहरुसँग सल्लाह नभएको होईन । काठमाडौंमा मात्रै केन्द्रित भएर हुँदैन् । देशभरि नै स्वतन्त्र साथी हुनुहुन्छ । देशव्यापी रुपमा चरणबद्ध छलफल भएका छन् । कुराकानी र छलफल सुरु भएको छ । स्वतन्त्र शब्दलाई पार्टी बनाउँदा विवाद सिर्जना गर्छ भन्नु गलत हो ।’

अहिलेको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको पक्षमा राम्रो माहोल देखिएकोले आगामी संसदीय निर्वाचनमा प्रभावकारी बनाउन सकिन्छ भनेर नै स्वतन्त्र नाम राखिएको उनको भनाई छ । उनले भने,‘म त भैरहेको दलको सदस्यपनि होइन। म त स्वतन्त्र सञ्चारकर्मी थिएँ । मभन्दा क्षमतावान साथीहरुपनि हुनुहुन्छ, जो स्वतन्त्र मुभमेन्टमा हुनुहुन्छ, सबैसँग सहकर्या गर्ने हो । एलायन्स गर्ने हाम्रो सोच छ । म पनि उहाँहरुजस्तै एउटा मान्छे हुँ । दलबिना अघि बढ्न कठिन भएकोले यो दल बनाएका हौं । हामी स्वतन्त्रविरुद्ध होइनौं । निर्वाचन आयोगमा नामबारे पनि उजुरी परेको छ । आयोगले यदि यो नाम हुँदैन भन्यो त हामी जोड गर्दैनौं । हामीले पनि स्वतन्त्र व्यक्तिहरुको सम्मानको लागि र सदुपयोग गर्न खोजेका छौं ।’

उनले विदेशमा पनि थुप्रै देशमा थुप्रै स्वतन्त्र पार्टीहरु रहेको स्मरण गराए । यद्धपी उनले अगामी संसद्को निर्वाचनमा राम्रा र योग्य स्वतन्त्र उम्मेद्धवारहरुविरुद्ध आफ्नो पार्टीले उम्मेद्धवारी नदिने जिकिर गरे । उनले भने,‘बरु, उहाँहरुलाई पनि समावेश गर्न चाहन्छौं । सही उम्मेद्धवार भए हामी सहयोग गर्छौं । स्वतन्त्र उम्मेद्धवारहरुसँग पौठेजोरी खोज्न खोजेको होइन । संसद त राम्रो मान्छेले भरिओस न । सबैलाई जोड्न सकिन्छ भनेर यो नाम राखेका छौं । निर्वाचन आयोगले आपत्ति जनायो भने हामी खुल्ला छौं । स्वतन्त्रको मुभमेन्टलाई हामी पनि जोड लगाऔं भनेर यो नाम राखेका छौं । हामीसँग अर्को कुनै उद्देश्य छैन् । हामीलाइ विश्वास छ–हामीले यो नाम प्राप्त गर्छौं ।’

त्यस्तै पार्टीको लोगोबारे पनि युरोपियन युनियनको लोगोसँग जोडेर गरिएको प्रश्नमा उनले यसमा पनि खोजी गर्न सुझाव दिए । उनले भने,‘कलरमा शंका तथा आशंका भए होलान्, रातो छान्दा सूर्यजस्तो भन्लान्, रुख, वनजंगलजस्तो हरियो कलर राख्दा कांग्रेसजस्तो भन्लान्, युरोपियन युनियबारे मलाई केही थाहा छैन् । भिसा लिने प्रयोजनबारे म कुनैपनि दूतावासमा छिरेको छैन् । म पनि पत्रकारितामा थिएँ, र्मले आरोपमा मात्रै समाचार बनाएको छैन् ।’

रमेश खरेल र रविन्द्र मिश्रसँग मिल्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले यो सम्भावना रहेको सुनाए । तर, अहिले एकता वा सहकार्यको विषयमा छलफल नचलेको उनको स्पष्टोक्ति थियो । उनले भने–‘अहिले त्यो चरणमा कुराकानी गरेका छैनौं । रमेश खरेलसँग कुराकानी भएको छ । सौहार्दपूर्ण रुपमा कुराकानी भएको छ। हर्क साम्पाङ र बालेन्द्र शाहसँग छलफल हुन पाएको छैन् । उहाँहरु काममा हुनुहुन्छ । अहिले सम्पर्क हुन पाएको छैन् । बरु, तपार्इँहरुले यो आईडिया दिनुभएको छ । बालेन, हर्कहरुलाइृ पार्टीमा जोड्न पाउनु खुशीको कुरा हो । स्वागत गर्न तयार छौं । उहाँहरुलाई जोड्ने कोशिस त गर्छौं । सहयोग र सद्भाव निरन्तर चाहिन्छ । अहिले हामीले उहाँहरुको सफल कार्यकालको शुभकामना दिने हो । हाम्रो पार्टीमा आउनुहोस वा नआउनुहोस, तर उहाँहरु सफल हुनुपर्छ । उहाँहरुलाई असफल हुने छुट छैन् । उहाँहरुको कार्यकाल सफलता नै हाम्रो प्राथमिकताको विषय हो ।’

ग्यालेक्सी छोडेजस्तो राजनीति पनि छोड्नुहुन्छ कि ? भन्ने प्रश्नमा उनले आफूले समयअनुसार आफूलाई अपग्रेड गराएको दाबी गरे । उनले भने,‘हेर्नुहोस, यो पनि एउटा चरण हो । मैले त आफूलाई समयअनुसार अपग्रेड गरेको हो । सरकारमा पुगिएछ भने के गर्ने भनेर अभ्यास गरेको छु । सञ्चारकर्म र राजीतिलाई पनि निरन्तरता दिने कुरा होईन । मिडियामा सफलताजस्तै राजनीतिमा पनि सफलता हुनेछु भन्ने विश्वास लिएको छु । म ईमानदार र प्रतिबद्ध भएर लाग्नेछु ।’

जसले मलाई उठ्न सिकायो, त्यो दाजुको विरुद्धमा म जान सक्छु र ?

उनले राजनीतिमा आउनको लाग दाजुसँग छलफल गरेर नै अघि बढेको जिकिर गरे । उनले भने,‘दाजुसँग छलफल भएको छ । धेरै ढंगले छलफल भएको हो । पारिवारिक छलफल पनि भएको हो । विषयवस्तु हेरेर छलफल भएको हो । छलफल नै नगरिकन यति महत्वपूर्ण कदम कहाँ चालेको हो र ? परिवारवादबारे प्रवक्ताले भन्नुहुन्छ । जसले मलाई उठ्न सिकायो, उसको विरुद्ध म जाउँला र ? दाजुको विरुद्ध म जाँदै जाँदिन । उहाँसँग सिकेर आएको छु । हामी त बेथितिविरुद्ध लड्ने हो नि । वैचारिक बहस हुन्छ । हरिशरण दाईले त ठीक गर्नुभएको छ । हाम्रो त परिवारमै लोकतन्त्र छ । हामीबीच खुला बहस छ ।’

तपाईँलाई भोट किन दिने ? भन्ने अर्को प्रश्नमा उनले आफूहरुले अघि सारेका एजेण्डालाई हेरेर र ती एजेण्डा कार्यान्वयन गराउने भएकोले भोट दिनुपर्ने बताए । उनले भने–‘पार्टीका एजेण्डाका आधारमा भोट दिनुपर्छ । भ्रष्टाचारमा शून्य सहनसिलता हाम्रो एजेण्डा छ । विधिको शासन । सुशासन हाम्रा एजेण्डा हुन् । हामी त ब्लु प्रिन्टसहित आउँछौं । कसरी गर्छौं ? कुन टाईमभित्र गर्छौं ? सबै लिएर आउँछौं । म व्यक्ति उभिएको छैन् । सिंगो पार्टी उभिएको छ । व्यक्तिको र पार्टीको एजेण्डा फरक हुन्छ । हामीले उठाएका एजेण्डा सिमित ठाउँको मात्रै रहँदैन् । सिंगो देशलाई जोड्ने एजेण्डा हुन्छ । हामी क्लियर हुन्छौं ।’

उनले आफूहरु राजनीतिमा छोटो रेसको घोडा नभएर लामो राजनीतिक यात्रासहित आएको सुनाए । उनले भने,‘सफलता र असफलता विभिन्न घट्नाक्रमसँग जोडिन्छ । अर्को दलसँग तुलना हुँदैन् । मर्जर वा एकताको सम्भावनाको बारेमा पनि यहाँ सोधियो, समान विचारधारा भएकाहरुसँग कुराकानी भैरहेको छ । एकता असम्भव होईन । अहिले हामी प्रारम्भिक चरणमा छौं । राजनीतिमा सबैखाले सम्भावना छन् । बेथिति ननिम्त्याउने हकमा एकता हुन्छ । त्यत्ति हो कि गलत प्रभाव नपार्ने, जनताप्रति गद्दारी हुनुभएन ।’ उनले बारम्बार मुलुकको व्यवस्थामा व्यापक सुधार चाहिएको उल्लेख गरे । उनले भने,‘व्यवस्थाको कुरा गर्दा हामी यही मोडेलमा, यही खर्चमा जाने हो भने यसले कुनै निश्कर्षमा पुर्याउँदैन् । संघीयता फाल्नेबित्तिकै सबै चिज ठीक हुन्छ भन्नेपनि होईन । आधारभूत आवश्यकत्ताको मुद्दालाइ सम्बोधन गर्न सकिन्छ ।’ उनले आफूले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता मान्ने सुनाए ।

त्यस्तै, उनले आफूले विगतमा सञ्चालन गर्न लागेको ‘द लिडर’ भन्ने कार्यक्रमबारे सोधिएको प्रश्नबारे पनि जवाफ दिए । उनले भने,‘यो लिडर कार्यक्रमबारे जोडर विभिन्न प्रश्न उठेको मैले पनि पढेको छु, यो कार्यक्रम सञ्चालनमा आएन, मेरो त सञ्चालकको भूमिका हुने भनिएको हो । कोभिडको कारणले दुई पटक सर्यो । केही बेरमा म आज डिटेल भन्छु । नैतिक रुपमा यसको जिम्मेवारी म लिन्छु । अब म कार्यक्रम सञ्चालक हुन्नँ होला । अर्को कार्यक्रम सञ्चालक राखेर चलाउन छुट छ । त्यो हेर्न बाँकी छ । पैसा ब्याजसहित फिर्ता पाउनुपर्छ । ज–जसले पाउनुभएको छ, त्यो ठिकै छ, नपाएकाहरुले पनि फिर्ता पाउनुपर्छ ।’

पत्रकार सम्मेलनको लागि ऋषि धमला नेतृत्वको रिपोर्टर्स क्लब नेपाल किन चयन गर्नुभयो ? भन्ने पनि पत्रकारले प्रश्न सोधेका थिए । जवाफमा रविले भने–‘दलको कार्यालय छिटो छानेका हौं । त्यहाँ तपाईँहरुलाई सुविधाजनक रुपमा राख्ने अवस्था छैन् । अहिले निर्वाचन आयोगबाट वैधानिकता प्राप्त भएको पनि छैन । क्लबसँग तपाईँहरु सबै साक्षात्कार हुनुहुन्छ । मैले पनि टिभीमा देखेको हुँ, मलाई लाग्छ आजको यो पत्रकार सम्मेलनको लागि क्लबको छनौट राम्रो हो भन्ने लागेको छ ।’



प्रतिक्रिया दिनुहोस्