Logo

मेटमणि चौधरीको टिप्पणी-मन्त्रीको कुर्सी बचाउनको लागि घरघरमा चाहार्ने, अनेकौं हारगु्हार गर्ने कुरा अनैतिक हो (भिडिओसहित)



काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) का नेता तथा मन्त्रीको लागि सिफारिश मेटमणि चौधरीले मन्त्री बनाउनको लागि पार्टीले गरेको निर्णय कार्यान्वयनमा ढिलाई भएकोमा गुनासो पोखेका छन् । उनले पार्टीले गरेको निर्णय कार्यान्वयनमा प्रधानमन्त्री शेरबहादुर देउवा नै उदासिन रहेको गुनासो पोखे ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले मन्त्री हेरफेर गर्ने निर्णय कार्यान्वयन नगर्नु र यसरी कुराउनु दुःखद् भएको प्रतिक्रिया दिए ।

उनले भने–‘यति दिन कुराउने कुरा राम्रो होईन, अहिले त हामी पाँच दलको कारणले सरकार बनेको छ । यो सरकार भनेको पाँच वटा पार्टीकै सरकार हो । हाम्रो दलले त मन्त्री बनाउनको लागि सिफारिश गरेको छ। तर, २२ दिनसम्म पनि यो निर्णय कार्यान्वयन गराउनको लागि पेण्डिङमा राख्नु नराम्रो कुरा हो ।’

चौधरीले अहिले मन्त्रीबाट हटाउन लागिएकाहरु पनि पार्टीकै सिफारिश अनुसार नै मन्त्री बनेको स्मरण गराए । उनले पार्टी नेतृत्वप्रति सबै ईमानदार हुनुपर्नेमा जोड दिए । उनले आफूहरु एमालेबाट विद्रोह गरेर आएकोले पार्टीभित्र विधि, विधान र पद्धती लागु गराउन सबै गम्भीर रुपमा लाग्नुपर्ने जनाए ।

पार्टीलाई विघटन गर्नेगरि एक्शनमा उत्रिएको भन्दै उनले विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ र रामकुमारी झाँक्रीको आलोचना गरे । उनले भने–‘आफ्नो कुर्सी बचाउनको लागि अनेकौं हारगुहार गर्ने कुरा, घरघरमा चाहार्ने कुरा, यो जतिको अनैतिक कुरा अरु केही हुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्