Logo

सुस्तश्रवण बालबालिकाहरुको भाषा, सञ्चार तथा शैक्षिक विकासको लागि पूनःस्थापना सेवासम्बन्धी गोष्ठी सम्पन्न



काठमाडौं, १२ असार । काठमाडौं महानगरपालिकाको शिक्षा विभागको प्रमुख रामराज सुवेदीले सुस्तश्रवण तथा अपाँगता भएका बच्चाहरुको लागि सामूदायिक विद्यालयमा शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित् गर्ने बताएका छन् । आज (आइतबार) श्रुति संस्थाद्धारा आयोजित सुस्तश्रवण बालबालिकाहरुको भाषा, सञ्चार तथा शैक्षिक विकासको लागी पुनस्र्थापना सेवासम्बन्धी गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राजधानीका कतिपय सामुदायिक विद्यालयमा सुस्तश्रवण बच्चाहरुलाई भर्ना लिन नमान्ने समस्या देखिएकोले उक्त समस्याको चाँडै समाधान गरिने बताए । उनले प्याबसनका प्रतिनिधीलाई पनि यस विषयमा ध्यान दिन र समस्या समाधानका लागी पहल गर्न आग्रह गरे ।

बालबालिकाहरुको पठनपाठन गर्ने अधिकार हनन गर्न नहुने उनको विचार थियो । साथै, उनले सुस्तश्रवण भएकाहरुलाई चाहिने श्रवणयन्त्र प्रदान गर्न सहयोग गर्ने जिम्मा महानगरपालिकाको पनि भएकोले त्यसको लागि आफूहरुे पनि सहयोग गर्ने विश्वास दिलाए ।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव जमुना मिश्रले सुस्त श्रवण बच्चाहरुको समस्या समाधान गर्नको लागि तिनै तहको भूमिका महत्वपुर्ण रहने बताईन् ।

सुस्तश्रवण भएका बालबालिकाको समस्या समाधान तथा गुणस्तरीय शिक्षाका लागि अभिभावक, शिक्षक, सरोकारवाला संस्थालगायतको उत्तिकै भूमिका रहने उनको भनाई थियो ।उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको तर्फबाट सुस्तश्रवण भएका बालबालिकाहरु गुणस्तरीय शिक्षा प्राप्त गर्न र भविष्य निर्माण गर्न सफल हुने आशा व्यक्त गरे ।

त्यस्तै, काठमाडौं महानगरपालिकाका अधिकृत भवानी कपालीले अपाँगता भएका व्यक्तिहरुको वर्गीकरणमा अझैपनि द्धिविधा भएकाले चाँडै नै अपाँगता वर्गीकरण र सेवासुविधा बारेमा नयाँ नीति नियम बनाएर लागु गर्ने बताए ।

उनले अपाँगता परिचयपत्र लिनको लागि पनि समस्या देखिएकोले त्यसको समाधानका लागि पहल गर्ने बताए । साथै, उक्त विषयमा निगरानी तथा पैरवी गर्ने निकायको रूपमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहेकोले मन्त्रालयको पनि ध्यान जानुपर्ने उनको भनाई छ ।

कार्यक्रममा विभिन्न संघ/संस्थाबाट प्रतिनिधीहरुको बाक्लो उपस्थिति रहेको थियो । त्यस्तै विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिकाहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमलाई पल्लबी थापाले सञ्चालन गरेकी थिईन् भने श्रुति संस्थाका महासचिव कोपिला हुमागाँईले कार्यक्रम तथा संस्था स्थापनाको बारेमा प्रकाश पारेकी थिईन् ।

 



प्रतिक्रिया दिनुहोस्