Logo

हाम्रो पार्टीले मन्त्री फिर्ता बोलाउनेबारे छलफल नै गरेको छैन् : दिनानाथ शर्मा (भिडिओसहित)



काठमाडौं, १४ असार । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता दिनानाथ शर्माले आफ्नो पार्टीले तत्काल मन्त्रीहरु फिर्ता बोलाउनेबारे कुनै छलफल र सोच नबनाएको स्पष्ट पारेका छन् । उनले मन्त्रीहरु हेरफेर गर्ने निर्णयको पनि आलोचना गरे । मन्त्रीहरुलाई राम्रोसँग काम गर्नको लागि समय दिनुपर्ने भन्दै छिटोछिटो मन्त्रीहरु हेरफेर गरेको विषयमा जनता पनि त्यति खुशी नभएको उनको टिप्पणी छ ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरु फेरेको निर्णय जनताले राम्रो नमानेको प्रतिक्रिया दिए । उनले भने,‘अहिलेको राष्ट्रिय राजनीतिको कुरा गर्दा केही पार्टीले मन्त्री फिर्ता बोालाउने र नयाँ पठाउने काम भएको छ । एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गर्यो, त्यसो नगरेको नभए हुन्थ्यो । फेरबदल गर्नुलाई जनताले राम्रो मानेका छैनन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता शर्माले पालो पुर्याएर तीन/तीन महिना र छ महिना सरकारमा सहभागी हुने पद्धतीलाई प्रोत्साहन गर्न नहुने धारणा राखे । उनले भने,‘मन्त्री बनेर सरकारमा गएपछि उसलाई एउटा कार्यकाल कायम गर्नको लागि, अवसर दिनुपर्छ । ३ महिना, ५ महिनामा ७ महिनामा मन्त्रीले के परीणाम दिन्छ ? एक/दुई महिना मन्त्रालय बुझ्नै लाग्छ, तीन महिना कार्ययोजना बनाउन समय लाग्छ । मन्त्रीलाई काम गर्ने अवसर पर्याप्त रुपमा दिनुपर्छ ।’

शर्माले आफ्नो पार्टीले अहिले मन्त्रीहरु फिर्ता बोलाउनेबारे कुनै छलफल नगरेको जिकिर गरे । उनले भने,‘हामीले मन्त्रीहरु फिर्ता बोलाउनेबारे सोचेका छैनौं । हामीले नयाँ टिम पठाउनेबारे छलफल नै गरेको छैन् । केन्द्रीय कमिटीको बैठक यही असार १९ गते बस्दैछ । त्यो बेला कुरा आए छुट्टै कुरा हो । तर, हाम्रो नेतृत्वले यसबारेमा सोचेको छैन् ।’

छिटो–छिटो मन्त्रीहरु फेर्ने कुराले गलत परम्परा र संस्कृतिको विकास हुने उनको चिन्ता छ । उनले भने,‘एउटा मन्त्रीले परिणाम देखाउनेगरि काम गर्न समय र अवसर दिनुपर्छ । मूल्यांकन गर्ने कुरा पनि ६ महिना, १० महिनामा हुन सक्दैन् । केही समय बस्ने र काम गर्ने अवसर दिनुपर्छ । गलत गरेको पुष्टि हुनको लागि पनि केही समय दिनुपर्छ । यसैकारण छिटो छिटो मन्त्री फेर्ने तरिका त्यति राम्रो भएन । नेपाली जनतालाई मन्त्रीहरु फेरबदल गर्ने काम मन परेको छैन् । जनताले यसबारेमा नमिठो नमिठो महसुस गरेको पाईन्छ । गठबन्धनभित्र दलको आफ्नो आन्तरिक समस्या हो । एकीकृत समाजवादीले फेरबदल गरेपनि हामीले गर्दा विचार पुर्याउनुपर्छ । राज्यसत्ताको संस्कृति र संस्कारको कुरा हो । संघीय लोकतान्त्रिक गणतन्त्रको कल्चर कस्तो बनाउने भन्ने पनि प्रधान कुरा हो । हामी सचेत छौं ।’

उनले वर्तमान पाँच दलीय गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म निरन्तर जाने विश्वास दिलाए । उनले भने,‘निर्वाचनसम्म नै यो गठबन्धन कायम रहन्छ । यो गठबन्धनलाई व्यवस्थित् गर्नको लागि र निरन्तरता दिनको लागि हामी सचेत छौं । निर्वाचनपछि गठबन्धनको स्वरुप फेरिएला, त्यो छुट्टै परिवेश हो । तर आगामी निर्वाचनसम्म गठबन्धन तलमाथि हुँदैन् ।’

उनले संघ र प्रदेशको निर्वाचनमा गठबन्धनबीच सिटको बाँडफाँडमा पनि समस्या नहुने जिकिर गरे । उनले भने,‘हुन त सिटको कुरा गर्दा एउटै पार्टीमा पनि तलमाथि हुन्छ । हामीले भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ७५३ स्थानीय तहमा त गठबन्धन गर्यौं । परीणाम सन्तोषजनक आएको मूल्यांकन गरेका छौं । हिजोका दिनमा भएका कमिकमजोरीहरु सच्याउँछौं । व्यवहारिक रूपमा देखापरेका समस्या हल हुन्छ । गठबन्धनलाई अझ परिपक्व र सुदृढ बनाउनको लागि आगामी दिनमा प्रयत्न गर्छौं । प्रतिनिधिसभाको निर्वाचनमा १६५ निर्वाचन क्षेत्र छ, यसको सिट बाँडफाँडमा पाँच दलीय गठबन्धनले मिलाएर जान्छ । यसमा समस्या हुन्छ भन्ने लाग्दैन् । हाम्रो नेतृत्व प्रतिबद्ध छ । व्यवस्थित् छ । परिपक्व छ । सुझबुझपूर्ण तवरले यो विषयलाई नयाँ र वैज्ञानिक ढंगले हल गरेर नै गठबन्धन अघि बढ्छ ।’

उनले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको बारेमा विवाद भएको कुरामा सोधिएको प्रश्नमा भने–‘मन्त्रीहरुको बारेमा विवाद हुन्छ, यसबारेमा पार्टीले छलफल गर्छ । अहिले अर्थमन्त्रीको साटो अर्को व्यक्तिलाई पठाउने भनेर कुनै निर्णय गरेको छैन् ।’

उनले अब बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको चयन गर्ने पनि विश्वास दिलाए । उनले सकेसम्म सहमतिबाटै पदाधिकारी चयन गरिने र सम्भव नभए लोकतान्त्रिक विधि भएकोले निर्वाचनबाट पदाधिकारी चय हुने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्