Logo

‘कम्युनिष्ट पार्टीबाहेक अरुले देशको विकास गर्न सक्दैनन्, यो ७८ वर्षको ईतिहासले सावित गरेको कुरा हो’ : संयोजक वामदेव गौतम



‘कम्युनिष्टहरुबीच पार्टी एकताको लागि हिजो चुम्बक थिएन, आज हामीसँग चुम्बक छ’
काठमाडौं, १४ असार । वामदेव गौतमको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नयाँ दल घोषणा गरिएको छ । नयाँ दलमा ७५ सदस्यीय केन्द्रीय कमिटी बनाईएको जनाईएको छ । त्यस्तै, स्थायी कमिटी भने १५ जनाभन्दा नबढ्नेगरि बनाईने जनाईएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर नवगठित पार्टीको घोषणा गरिएको हो । पार्टीले ८ सदस्यीय हेडक्वार्टर (केन्द्रीय सचिवालय) गठन गरेको छ । जसमा संयोजक गौतमसहित सचिव डीबी कार्की, सदस्य ओम शर्मा चालिसे, सदस्य डिल्लीराज भट्टराई, सदस्य दुर्गा भण्डारी, सदस्य निमकान्त पाण्डे, सदस्य भगवती विष्ट र सदस्य युवराज सफल रहेका छन् ।

नवगठित पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वोच्च अदालतको एमाले र माओवादी केन्द्र अलग अलग गर्ने निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरुका बीचमा शत्रुतापूर्ण अवस्थामा परिणत गरिदिएको टिप्पणी गरेको छ। संयोजक गौतमको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘एमाले र माओवादी केन्द्र विभाजन गर्ने सर्वोच्चको निर्णय त्रुटिपूर्ण र हानिकारक सावित भएको छ । त्यसकै कारण जनतामा निराशा बढ्दै जान थालेको छ ।’

त्यस्तै, पार्टीको मुख्य कार्यभार विघटन भएको नेकपालाई फेरि पूनर्गठन गर्ने रहेको जनाईएको छ । र, प्रदेश र संघको निर्वाचन पुर्व नै एमाले, माओवादी र समाजवादीबीच एकताको प्रयास गर्ने र एकता सम्भव नभए कार्यगत एकता गर्ने पार्टीको अर्को मुख्य लक्ष्य रहेको छ । यसरी गरिने कार्यगत एकतामा जनमोर्चा र जसपासहितको बृहत्त वापन्थी चुनावी मोर्चा बनाउने योजना रहेको छ ।

कार्यक्रममा संयोजक गौतमले आफू लागिपरेपछि जस्तोसुकै जिम्मेवारी पनि पूरा गरेरै छाडेको ईतिहास भएको स्मरण गराउँदै आफ्नै जीवनकालमा नेपालका सबै कम्युनिष्टहरुबीच एकता गरेरै छाड्ने घोषणा गरे । उनले आफूमाथि पदमा बसिरहन र परिवारवादमा फसेको भनेर लगाईएको आरोपको खण्डन गरे ।

उनले भने,‘मलाई पदमा बसिरहने, आकांक्षा पूरा गर्नको लागि महत्वकांक्षा बोकेर, पार्टी खोलेको भनेर पनि यहाँ पत्रकार साथीहरुले भन्नुभयो, केही साथीले परिवारका सस्यहरु पार्टीमा राखेको कुरा भन्नुभयो । दुई वटै कुरा सत्य होइन । मेरो सिंगो परिवार कम्युनिष्ट आन्दोलनमा छ । सिंगो परिवार, आमा, भाईहरु, बहिनीहरु, जति छन् मेरा सन्तान, तपाईँले हेर्नुभयो भने सबै आन्दोनलमा लागेका छन् । आज होईन, कठिन परिस्थितिमा पनि लागेका छन् । म त ७ वर्षको उमेर हुँदा कम्युनिष्ट आन्दोलनमा सरिक भएको हुँ । अहिले ७३ वर्ष भएँ । व्यक्तिगत ईच्छा पूरा गर्न छोडेर कम्युनिष्ट आन्दोलनको लागि ०२६ सालदेखि पूर्णकालिन रुपमा भूमिगत भएर हिँडेको हुँ । कठिन परिस्थितिमा पार्टी निर्माण गरेको छु । मैले जग हालेको पार्टीमा आज धेरै ठूला ठूला नेता बस्नुभएको छ । नेकपा मालेको जग पनि मैले नै गण्डकी उता होलेको हुँ । कम्पनी खोलेर, कुनै व्यवसाय गरेर आफ्नो व्यक्तिगत लाभ पूरा गर्न लगाएको छैन् । मजस्ता व्यक्तिहरु संसदीय संघर्षमा सामेल भएकैले देशमा सकारात्मक नतिजा प्राप्त भएको छ ।’

सो क्रममा वामदेवले माओवादीले सशस्त्र संघर्षको पनि स्मरण गरे । उनले भने,‘माओवादीले सशस्त्र संघर्ष सुरु गर्यो, त्यो संघर्ष एउटा चरणमा पुगेको बेला, कमरेड प्रचण्डसँग मेरो भेट भएको थियो । उहाँले भन्नुभएको थियो–हामी शत्रुको फौज समाप्त गने अवस्थामा छैनौं, र शत्रुले पनि हाम्रो फौज समाप्त गर्नसक्ने अवस्था छैन भन्नुभयो । मैले वार्ता गर्नुपर्छ भनेको थिएँ । वार्तामा आफ्ना माग पूरा भए शान्तिप्रक्रियामा जानुपर्छ भनेको थिएँ, त्यतिवेला प्रचण्ड, बाबुराम र मोहन बैद्य हुनुहुन्थ्यो । मसँग देवी ओझा हुनुहुन्थ्यो । प्रचण्डले बोल्नुभएन । तर, बाबुरामले बोल्नुभयो कि जुन संसदीय व्यवस्थाविरुद्ध लड्यौं, आज सम्झौता किन गर्ने भन्नुभयो । मैले त सेफ ल्याण्डिङको बाटो खोज्न भनेको थिएँ । त्यही दौरानमा ठूलो संघर्षको विस्फोट भयो । २०६२÷०६३ मा ठूलो जनआन्दोलन भयो । त्यो आन्दोलनले राजालाई हल्लायो । संविधानसभाको निर्वाचन भयो । पहिलोपटक नेपालमा राजालाई गद्दीबाट तल झारयौं । संसदीय अभ्यासमा हामीले ठूलो–ठूलो सफलता हाँसिल गरेका छौं । त्यो संघर्ष गर्दा म एउटा मोर्चामा खटिएको थिएँ ।’

गौतमले आज देशमा भएका परिवर्तन त्यसको जग आफूहरुले हालेको पनि स्मरण गराए । उनले भने,‘अब म कति समय बाँच्न सक्छु, मलाई मृत्युवोध छ । तर, अहिले म किन अगाडि बढेको छु, जुन आन्दोलनको निम्ति संघर्ष र जीवन बलिदान गरें, आज देखिरहेको छु, कि त्यो आन्दोनल धराशयी हुँदैछ । जसले चाँडो सूर्य देख्छ, त्यसले संसार उज्यालो देख्छ । कम्युनिष्ट आन्दोलन धराशयी हुन नदिनको लागि म सक्रिय भएको छु । स्थानीय तहमा कांग्रेस पहिलो भयो । कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गरेर गयो भने र कम्युनिष्टहरुबीच एकता भएन भने उसले या त बहुमत प्राप्त गर्छ, या त ठूलो दल बन्छ । अब हुने निर्वाचनपछि हुने अर्को निर्वाचन अर्थात दोस्रो निर्वाचनमा कांग्रेसलाई गठबन्धनको आवश्यक पर्दैन् ।’

कांग्रेससँगको सहकार्यले नेपालमा ठूलो परिवर्तन हाँसिल भएको पनि गौतमले उल्लेख गरे । तर, कांग्रेसको नेतृत्वमा नै देशले ठूलो–ठूलो संकट व्यहोर्नुपरेको उनको आरोप छ । उनले भने,‘भर्खरै अमेरिकी सहयोग परियोजना एमसीसी पास भयो । एसपिपी पनि सत्ताधारी कम्युनिष्टको कारण विरोध भएकोले रोकियो, कांग्रेस सत्तामा रहेको बेला उसले विकासको नाममा जे पनि गर्ने स्थिति देख्यौं । राष्ट्रको राष्ट्रियता र स्वतन्त्रताको हकअधिकारको निम्ति, कांग्रेस सही किसिमले प्रस्तुत भएको छैन् । कांग्रेसको नेतृत्वमा देशको विकास हुँदैन् ।’

उनले देशको विकास हुनको लागि कम्युनिष्टहरु मिल्नुपर्ने बताए । उनले भने,‘हाम्रो पार्टीको एकमात्रै उद्देश्य त्यही हो । हामी आफ्नो प्रयत्न अघि बढाउँछौं । आज पार्टी घोषणा भयो, अब पार्टी उद्घाटन हुने बेलामा नेपाल चकित हुनेछ । त्यतिवेला लाखौं व्यक्ति गोलबन्द हुनेछन् । म जहाँ–जहाँ सामेल भएको छु, निश्वार्थ भावनाका साथ प्रस्तुत भएको छु, र ठूलो सफलता हात पारेको छु ।’

उनले श्रीमती तुलसा थापा आफ्नो पार्टीमा केन्द्रीय सदस्य बनेको विषयमा उठाईएको प्रश्नमा यसलाई उनले श्रीमतीको व्यक्तिगत स्वतन्त्रता र उनले पाएको मौलिक अधिकारसँग जोडे । उनले भने,‘हामी व्यक्तिगत स्वतन्त्रता मान्दछौं । मेरी श्रीमती राजनीति गर्ने ठाउँमा आउन हुँदैन् र ? उनले आफ्नो मालिक हक पाउन हुँदैन भनेर प्रश्न कहाँबाट प्राप्त भयो ? आज हामी सरकारी पदमा छैनौं । जनप्रतितिधि संस्थाको रुपमा म राष्ट्रियसभामा छु, मेरी श्रीमती प्रतिनिधिसभामा छिन् । अब केही समयपछि निर्वाचन हुँदैछ ्। त्यो सबै देखेर हामीले यो काम गरिरहेका छौं । नेपालको कम्युनिष्ट आन्दोलन जोगाउनको लागि कम्युनिष्ट पार्टीबीच सुदृढ किल्लाको रुपमा विकास गर्न यो पार्टी गठन भएको हो । मलाई हजारौं कमरेडले साथ दिनुभएको छ । मेरो साथमा चार÷पाँच वटा पार्टी पनि सामेल भएका छन्, अझै पाँच÷सात दल संलग्न हुने अवस्था छ । अब नयाँ धार विकसित हुँदैछ । त्यो धारको शुभाराम्भ मिडियामार्फत यही रिपोर्टर्स क्बलमार्फत गरेका छौं । दोस्रो भेला अत्यन्तै उत्साहका साथ सम्पन्न बनायौं । केन्द्रीय कमिटी बनाएर बैठक गरेर निर्णय सार्वजनिक भएको छ । हामी जनताप्रति बफादार भएर अघि बढ्नेछौं । कम्युनिष्ट पार्टीबीच शत्रुतापूर्ण अवस्था भैरहेको बेलामा, मित्रतापूर्ण रुपमा अघि बढाउन हामी लागेका छौं । हामीलाई सफलता मिल्नेछ ।’

उनले आजभन्दा दुई वर्ष पहिले पार्टी नखोल्नुमा नेकपा एकताको लागि प्रयास गर्नु थियो भन्ने जवाफ दिए । उनले भने,‘हामीले त्यतिवेला पार्टी खोलेनौं । त्यति बेला नेकपा एकता राष्ट्रिय अभियान चलायौं, एकताको लागि धेरै काम गर्यौं, तर एकता सम्भव भएन । अहिले आएर हामीले आफ्नो एउटा शक्ति निर्माण गर्नुपर्छ भन्ने निश्कर्ष निकाल्यौं । र, यो पार्टी जन्माएका छौं । कम्युनिष्टहरुबीच पार्टी एकता हुन्छ, एकताको लागि हिजो चुम्बक थिएन । अब चुम्बक छ । हामीले अघि सारेका योजना पूरा हुन्छन् ।’

कम्युनिष्ट पार्टीबाहेक अरु कुनै पार्टीले नेपालको परिवर्तन र विकास गर्न नसक्ने गौतमले बारम्बार दाबी प्रस्तुत गरे । उनले भने,‘देशको विकास गर्न कम्युनिष्ट पार्टी नै चाहिन्छ, अरुले गर्न सक्दैनन् । हाम्रो ७८ वर्षको ईतिहासले यो सावित गरेको छ । नेपालको विकासको लागि कम्युनिष्ट नेतृत्वको सरकार चाहिन्छ । हिजो एकता गर्न सक्यौं आज पनि एकता गर्नसक्छौं । ४६औं एकताबाट नेकपा बनेको थियो । ४५ वटा एकीकरणमा म संलग्न छु । पार्टी निर्माणमा म सक्रिय छु । मैले आज अर्को संकल्प गरेको छु । पार्टी पूनर्गठनको महाभियानमा जुटेको छु ।’

उनले आफूले नेकपा विभाजन नगरेको जिकिर गरे । तर, नेकपा विभाजनको एउटा हिस्सा आफूले भने स्विकार गर्ने उनको भनाई छ । उनले भने,‘नेकपाको सचिवालयमा म बरिष्ठ सदस्य थिएँ । ठीक र बेठिक छुट्याएर निश्पक्ष तरिकाले आफ्नो सुझाव दिने गरेको थिएँ, कहिले ओलीको आलोचना गर्थें, कहिले प्रचण्डको आलोचना गर्थें । मैले गरेको आलोचना तथ्यमा गरिएको हुन्थ्यो ।’ उनले अहिले पनि प्रयत्न गर्ने हो भने केन्द्रमा र ७ वटै प्रदेशमा कम्युनिष्टको सरकार बन्ने स्थिति रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्