Logo

बाबुरामलाई स्वागत गर्न आँतुर प्रचण्ड



काठमाडौं, १७ असार । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पार्टी विभाजनको तयारीमा जुटेका छन् । अध्यक्ष उपेन्द्र यादवसँग समझदारीमै पार्टी विभाजन गर्न लागेका भट्टराईले नयाँ पार्टी गठनसँगै पूरानै पार्टी माओवादी केन्द्रमा पनि प्रवेश गर्न सक्नेगरि छलफल चलाएका छन् ।

माओवादी केन्द्रनिकट उच्च स्रोतका अनुसार बाबुरामले हिजोमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग लामो छलफल गरेका छन् । उनीहरुले उपरराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेटवार्ता गरेको खुलेको छ । जसपामा अध्यक्ष उपेन्द्रसँग उनको टकराव परेको छ । सुरुदेखि नै भट्टराईले यादवलाई हटाउनको लागि प्रयास गरेका थिए ।

जसपाका थुप्रै सांसदले यादव हटाउनको लागि साथ दिने भनेर वचन दिएपनि अन्तिममा भने बाबुरामलाई धोका दिएका छन् । योसँगै बाबुरामले नयाँ दल दर्ताको लागि अध्यक्ष यादवसँग सल्लाह गरेको बुझिएको छ । उनीहरुबीच भएको भेटवार्तामा सहमतिमै छुट्टिने पनि समझदारी कायम भएको छ । संविधानसभाबाट संविधान जारी भएपछि बाबुरामले अकस्मात् माओवादीको साधारण सदस्यसमेत नरहेगरि पार्टी परित्याग गरेका थिए । त्यसलगत्तै उनले वैकल्पिक शक्ति भन्दै नयाँ शक्ति नेपाल जन्माएका थिए ।

तर, उनको पार्टीले सोचेजस्तो गर्न नसकेपछि उनले तत्कालिन संघीय समाजवादी फोरमसँग एकता गरेका थिए । माओवादीसँग अलग भएको लामो समयपछि भट्टराई पूनः माओवादीमा नै प्रवेश गर्नेगरि छलफल जुटेको बताईएको छ । तर, भट्टराईले भने अब समाजवादी केन्द्र बनाएर जानुपर्नैमा जोड दिन थालेका छन् ।

भट्टराईको प्रस्तावमा प्रचण्ड पनि सहमत छन् । तत्काल बाबुुराम माओवादीमा प्रवेश नगर्ने बुझिएको छ । उनले प्रचण्डले माओवादी केन्द्रको नाम परिवर्तन गर्नुपर्ने शर्त राखेका छन् । उनले समाजवादी केन्द्र बनाएर अघि बढे प्रचण्डसँग सहकार्य गर्न सकिने संकेत गरेका छन् ।

प्रचण्डले पनि माधव नेपालको पार्टीसँगको एकतालाई ध्यानमा राखेर समाजवादी केन्द्र बनाएर जान सकिने जवाफ दिएका छन् । स्रोतकाअनुसार प्रचण्डले पछिल्लो समय आफूनिकटका नेताहरुसँग बाबुरामसँग सहकार्य हुने भन्दै स्वागत गर्न आफू आँतुर रहेको बताउने गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्