Logo

मधेसी दल फुट्दा रमाउने धेरै छन्, म जसपा फुटाउन दिन्नँः महिन्द्र राय यादव



काठमाडौं, १९ असार । जनता समाजवादी पार्टीका नेता एवं कृषिमन्त्री महिन्द्र राय यादवले पार्टी विभाजन मिडियाको हल्ला मात्र भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “हामीले जसपालाई संकटका बेला बचाएका हौं । यो हिमाल, पहाड, मधेस तराई जोड्ने वैकल्पिक पार्टी हो । यो जनताको पार्टी हो, नेताको होइन । यहाँ मधेसी दल फुट्दा रमाउने धेरै छन् । उनीहरुलाई आनन्द लाग्ला ।”
मन्त्री फेरबदलबारे पार्टीमा आधिकारिक छलफल नभएको दाबी पनि यादवले गरे । उनले थपे, “पार्टी लोकतान्त्रिक विधि र प्रक्रिया अनि सामूहिक निर्णय अनुसार चलाउनुपर्छ । मन्त्री फेरबदलबारे पार्टीमा आधिकारिक छलफल भएको छैन, निर्णय भएको छैन । म सांसद हुँ । कार्यकारिणी समिति सदस्य पनि हुँ । मलाई केही थाहा छैन ।”
उनले आफू बाबुराम भट्टराई वा उपेन्द्र यादवको कित्तामा नभएको पनि बताए । यादवले थपे, “त्यसैले व्यक्तिको नाम नलिऔं । व्यक्तिको कुनै कित्ता हुँदैन । जसपा फुट्दैन । फुट्नुहुँदैन । यो मिडियाको हल्ला हो ।”
अर्को प्रसंगमा मन्त्री यादवले गठबन्धन चुनावसम्मै लम्बिने पनि बताए । उनले भने,” यो गठबन्धन मुलुकमा राजनीतिक स्थिरता, संविधान र लोकतन्त्रको रक्षाका लागि हो । अहिले केन्द्र र सबै प्रदेशमा गठबन्धनको सरकार छ । भोलि पनि गठबन्धनकै सरकार रहन्छ ।
जसपा नेता यादवले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्ने पनि औंल्याए । उनले भने, सर्वोच्च अदालतको फैसला सकारात्मक छ । निजगढ नेपालको मूलद्वार हो । फास्टट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थल नेपालको अर्थतन्त्रका लागि आवश्यक छ । सबै प्रक्रिया अनुसार अगाडि बढ्छ ।”
कृषिमन्त्री यादवले अब किसानलाई मल अभाव नहुने पनि बताए । उनले भने, “असार ९ देखि काठमाडौंमा मल भित्रिसकेको छ । १७० लाख बोरा बिक्री वितरण भइसकेको छ । कोलकाता बन्दरगाहबाट आएको मल बाटोमै छ । ५ हजार मेट्रिक टन मल तातोपानीमा छ । असारभित्र सबै मल आइसक्छ । अब मलको अभाव हुँदैन । अब मल आयातका लागि आयल निगम जस्तै निकाय र देशमै मल कारखाना बनाउनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्