Logo

वैवाहिक अंगीकृत नागरिकता घातक छः सांसद देवकोटा



काठमाडौं, १० साउन । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले वैवाहिक अंगीकृत नागरिकताको प्रावधान घातक रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद देवकोटाले भने, “नागरिकता संविधानसँग जोडिएको विषय हो । तर संविधान बनाउँदा यसलाई थाती राखियो । संसदको राज्यव्यवस्था समितिमा २ वर्षसम्म सहमति भएन । बहुमतले दिएको प्रतिवेदन स्वीकार्नुपर्नेमा अल्पमतको स्वीकार गरियो । एक हातले सिन्दूर लगाउने अर्को हातले नागरिकता दिने वैवाहिक अंगीकृतको प्रावधान घातक छ । यसरी हातहातमा तुरुन्त नागरिकता दिनुहुन्न ।”
भारत र नेपालको नागरिकतासम्बन्धी प्रावधानमा फरक फरक गरिनु नहुने पनि उनले बताए । सांसद देवकोटाले थपे, “भारतमा वैवाहिक अंगीकृत नागरिकताका लागि सात वर्ष कुर्नुपर्छ । विवाह गरेर जाने हाम्रा छोरीले भारतमा सात वर्ष कुर्नुपर्ने, उताकाले विवाह लगत्तै पाउने ?सेना प्रहरीमा त एक वर्षे परीक्षणकाल हुन्छ । नागरिकतामा एक वर्ष पनि नपर्खने ?”
प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयकले थुप्रै समस्या निम्त्याउने पनि देवकोटाले औंल्याए । उनले थपे, “नागरिकतालाई भारतसँग मात्र जोडेर हेर्न मिल्दैन । नेपालमा चीनलगायत तेस्रो मुलुकका नागरिक पनि छन् । कतिपय बर्मेली, बंगलादेशी पनि नक्कली नागरिकता बनाएर विदेश पुगेका भेटिन्छन् । गरिबीको दुष्चक्रका कारण कतिपय नेपाली लोभलालचमा परेका छन् । कतिपय विदेशी महिला आपराधिक गतिविधिमा संलग्न छन् । अब तिनले नेपाली युवकलाई फकाइफुल्याई विवाह गरेर सजिलै नागरिकता पाउन भए ।”

पर्दाभित्रबाट मुलुक चलाइरहेका ठेकेदार र बिचौलिया अब सीधै अगाडि आएर चलाउने देखिएको पनि सांसद देवकोटाले बताए ।



प्रतिक्रिया दिनुहोस्